काठमाडौं, १२ जेठ – भूमि व्यवस्थामन्त्री पद्मा अर्यालसहितको टोली सगरमाथाको आधार शिविर पुगेर फर्कंदा झन्डै ५० लाख रुपैयाँ खर्च भएको पाइएको छ ।
मन्त्रीको टोली वैशाख २८ गते सगरमाथा बेस क्याम्प पुगी त्यसै दिन साँझ काठमाडौ फर्केको थियो । टोलीले त्यतिबेला बेस क्याम्पमा झन्डै एक घन्टा कार्यक्रम गरेको थियो ।
नेपाली प्राविधिकहरू सगरमाथाको मापनमा रहेका बेला अनुगमनका नाममा मन्त्रीसहितको टोली तीनवटा हेलिकोप्टर लिएर बेस क्याम्पमा पुगेको थियो ।
काठमाडौंबाट लुक्लासम्म जहाजमा पुगेको टोली त्यहाँबाट भने नेपाली सेना र सिम्रिक एयरका हेलिकोप्टर लिएर त्यहाँ पुगेका हुन् ।सगरमाथाको मापनका लागि भन्दै नापीद्वारा भाडामा लिइएका सिम्रक एयरका दुईवटा हेलिकोप्टर मन्त्रीको टोलीका लागि प्रयोग भएका थिए । – नागरिक दैनिक