काठमाडाैं, १२ जेठ – काठमाडौंकाे सुकेधारा र घट्टेकुलोमा बम विस्फोटहुँदा तिन जनाकाे मृत्यु भएकाे छ भने ६ जना घाइते भएका छन् ।सुकेधारा र घट्टेकुलो दुबै स्थानमा घटनास्थलमा एक एक जना मृत भेटिएका छन् भने ओम अस्पतालमा उपचारका क्रममा एक जनाको मृत्यु भएको छ ।
ओम अस्पतालमा मृत्यु हुने सुकेधारा विस्फोटका घाइते हुन् । ओम अस्पतालमा अरु ५ जनाको उपचार भइरहेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीका अनुसार सुकेधारास्थित ढलाने पुल नजिकै विस्फोट भएको हो । बुढानिलकण्ठ नगरपालिका ४ स्थित एक सैलुनमा विस्फोट भएको प्रहरीले जानकारी दिएको छ । घाइते मध्ये दुईको अवस्था गम्भीर रहेको बताइएको छ ।
घट्टेकुलो विस्फोटका घाइते रविन केसीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । दुबै विस्फोटमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको संलग्नता रहेको पुष्टि भएको छ । घट्टेकुलो विस्फोटका घाइते केसी विप्लव समूहका विद्यार्थी नेता हुन् ।
सुकेधारा विस्फोटमा घाइते भएका सुरेन्द्र महर्जन विप्लव समूहको भातृ संस्था नेवा मुक्ति मोर्चाका नेता रहेको प्रहरीले जानकारी दिएको छ ।प्रहरीको प्रारम्भिक अनुसन्धानमा सिलिण्डर विस्फोट भएको खुलेको छ । तर, आफैं वा कसैले विस्फोट गराएको हो भन्ने अनुसन्धान भइरहेको प्रवक्ता पोखरेलले बताए ।
मृत्यु हुनेमध्येमा १ जनाको सनाखत भएको छ र २ जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । मृत्यु हुने लोकमञ्जरी कार्की रहेको प्रहरीको भनाई छ । कार्कीको अनामनगरस्थित घट्टेकुलोमा भएको विष्फोटमा परेर मृत्यु भएको हो । दुई मृतकको शव त्रिवि शिक्षण अपस्पताल र ओम अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ ।
घटनामा ५ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको पहिचान भएको छ । पहिचान हुनेमा काभ्रे घर भएका कपन मिलनचोक बस्ने ४४ वर्षीय हरि खड्का, कपन चुनिखेल घर भएका सुरेन्द्र महर्जन र विप्लवका कार्यकर्ता रविन केसी रहेका छन् ।