नरेफाँटको एक घरमा सशस्त्र प्रहरीले घेरा हाली विप्लवका सात कार्यकर्ता समात्यो

काठमाडौं, १३ जेष्ठ  — मसाल जुलुसको तयारी गर्दै गरेका प्रतिबन्धित नेकपा विप्लव समुहका सात जना कार्यकर्तालाई सशस्त्र प्रहरी बलको विशेष टोलीले आइतबार बेलुका काठमाडौं महानगरपालिका–३२ नरेफाँटबाट पक्राउ गरेको छ ।

उनीहरुले मसाल जुलुसको तयारी गर्दै गरेको खबर प्राप्त भएपछि खटिएको एपीएफ टोलीले उनीहरुको साथबाट मसाल बनाउन प्रयोग गर्न लागेको करिव ४० थान बाँसको भाटाको साथै करिव १ हजार ५ सय थान पर्चा पम्प्लेट तथा ४ वटा प्रेसर कुकर बरामद गरेको छ । त्यसबेला आठ वटा मोबाइल सेट समेत बरामद गरिएको छ ।

पक्राउ पर्नेमा झापा जिल्लाको बुद्धशान्ति घर बताउने आशिष तामाङ भन्ने डम्वर बहादुर तामाङ, सल्यान जिल्ला बागचौर बस्ने २७ वर्षीय चित्रकमल वली, भक्तपुुर मध्यपुर ठिमी बस्ने ३६ वर्षीय राकेश श्रेष्ठ, रोल्पा जिल्ला त्रिवेणी ५ बस्ने ३६ वर्षीय बुद्विलाल पुन तथा घर ठेगाना नबताउने ४१ वर्षीय बुद्धिबहादुर सुनुवार, ५१ वर्षीय तेजराज काफ्ले र ५२ वर्षीय तेजबहादुर मुक्तान छन् ।

एपीएफ टोलीले यिनीहरुमध्येका एक जनालाई सो ठाउँ भन्दा केहीपर शंकास्पद अवस्थामा फेलापारी पछ्याउँदै जाँदा ती व्यक्ति नरेफाँटस्थित एक घरभित्र पसेका थिए । त्यसपछि एपीएफ टोलीले सो घरलाई घेरा हाली उनीहरुलाई पक्राउ गरेको हो ।

एपीएफ टोलीले सोही घरबाट उनीहरुसँगै पर्चा पम्प्लेट, पे्रसर कुकर तथा बाँसको भाँटासमेत बरामद गरेको हो । पक्राउ परेकाहरुलाई बरामद प्रेसर कुकर, भाटा, पर्चा पम्प्लेट र मोवाईल फोनसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीलाई बुझाइएको छ ।— राजधानी दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार