२६ करोड डुबाएर बन्द भएको सहकारीले एक वर्ष भित्र सवै बचतकर्ताको रकम फिर्ता गरिदिने

काठमाडौं, १४ जेष्ठ  — नेपालगन्जको सहकारी वित्तीय विकास संस्था लिमिटेड सञ्चालक समितिले एक वर्षभित्र सबै बचतकर्ताको रकम फिर्ता गर्ने निर्णय गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेमा सोमबार बसेको वित्तीय संस्थाको सञ्चालक समितिको बैठकले मंगलबार संस्थामा लागेको ताला खोलेर एक लाख रुपैयाँभन्दा थोरै बचतकर्ताको रकम फिर्ता सुरु गर्ने निर्णय गरेको हो।

बैठकपछि सञ्चालक समितिका अध्यक्ष हरदेवबक्स चौधरीले भने, ‘हामी एक लाख रुपैयाँभन्दा कम रकम भएका बचतकर्र्ताबाट फिर्ता दिन सुरु गर्छौं। सबैको फिर्ता हुँदा एक वर्ष लाग्न सक्छ। रकम दिँदा इमरजेन्सी परेकालाई पनि प्राथमिकतामा राख्छौं।’

वित्तीय संस्थाका ४ कर्मचारीले झन्डै २६ करोड रुपैयाँ अपचलन गरेपछि आइतबारदेखि १५ दिनका लागि संस्था बन्द गरिएको थियो। बचतकर्ताले आइतबार जिल्ला प्रशासन र सोमबार दिनभरि जिल्ला प्रहरी कार्यालयमा धर्ना दिएर बचत रकम निकासा र अनियमितता गर्ने कर्मचारीलाई कारबाही गर्न दबाब सिर्जना गरेका छन्।

कुल पूँजी ५२ करोड रुपैयाँ रहेको संस्थाको झन्डै ११ करोड रुपैयाँ ऋण लगानी छ। प्रमुख प्रबन्धक गोपाल भण्डारीले संस्थाको खातामा ३०–४० लाख रुपैयाँ मात्र रहेको बताए। संस्थाले उनलाई अनियमितता छानबिन गर्ने जिम्मेवारी दिएको थियो। ‘४ हजार बचतकर्तामध्ये प्रारम्भिक रूपमा ३ सयभन्दा बढीको बचत रकम संस्थाको ढुकुटीमा दाखिला नगरेरै अनियमितता भएको छ। यस्तो रकम झन्डै १५ करोड छ’, उनी भन्छन्, ‘कृत्रिम ऋणी तयार गरेर रकम हिनामिना गरेको र ऋणीबाट ऋण असुल भइसक्दा पनि कर्जा नै देखाएर १०–११ करोड रुपैयाँ अपचलन भएको छ।’

२६ करोड डुबाएर सहकारी बन्द
फरार खजुरा शाखा प्रबन्धक सूर्यबहादुर बिकले ऋण असुल भइसक्दा पनि ऋण कायमै राखेर पैसा आफूले चलाएको बताएका छन्। जिप्रकामा सोमबार उनले चाँडै रकम फिर्ता गर्ने बताएका थिए। उनले भने, ‘म र श्रीमती बिरामी हुँदा ऋणको पैैसा चलाएको हुँ। १७ लाख रुपैयाँ फिर्ता गरिसकेँ। अरु पैसा पनि खोज्दैछु। चाँडै फिर्ता गर्छु।’ उनले ६२ लाख ८७ हजार ५३ रुपैयाँ अपचलन गरेका छन्।

अर्का अभियुक्त नेपालगन्ज शाखाका सहायक प्रबन्धक गंगाधर सुवेदीकी पत्नीले पनि सोमबार जिप्रकामा पतिले अपचलन गरेको रकम आफूले फिर्ता गर्ने बताएकी थिइन्। उनले चाँडै एक डेढ करोड रुपैयाँ फिर्ता दिने बताइन्। सुवेदीले २ करोड ८९ लाख ४७ हजार ९ सय १५ रुपैयाँ अपचलन गरेका छन्। उनी घाँटीसम्बन्धी समस्याको उपचार गराइरहेको पत्नीले बताइन्।

सबैभन्दा धेरै रकम अपचलन गर्ने नेपालगन्ज उपमहानगरपालिका–१७ परसपुरका अरुणकुमार पाठक फरार छन्। उनी संस्थाको मुख्य शाखा बैकिङ कार्यालय नेपालगन्जका बैकिङ प्रबन्धक हुन्। उनी एक्लैले २१ करोड ९४ लाख ३६ हजार १ सय २४ रुपैयाँ अपचलन गरेका छन्। ३८ लाख ७७ हजार ७ सय ७८ रुपैयाँ अपचलन गरेर राप्ती सोनारी–४ बैजापुर घर भइ संस्थाको बैजापुर शाखाका प्रबन्धक लीलाधर वली पनि फरार छन्।

संस्थाले १० जेठमा चारै जनालाई तीन दिनभित्र रकम दाखिला गर्न निर्देशन दिँदै सो अवधिमा रकम जम्मा नगरे कानुनी कारवाही गर्ने पत्र पठाएको छ। पत्रको बोधार्थ जिप्रका बाँकेलाई दिइएको छ। बाँकेका प्रहरी प्रमुख एसपी अरुण पौडेलले सुरुमा बचतकर्ताको रकम फिर्ता गर्न लगाउने र सहकारी विभागले छानबिन गरेपछि मात्र अपचलनमा संलग्नलाई कानुनी कारवाही गरिने बताए। उनले भने, ‘चार अभियुक्तमध्ये दुई जना सम्पर्कमा आएका छन्। उनीहरूले केही रकम फिर्ता दिने पनि भनेका छन्। त्यो रकम पनि बाँड्न सकिन्छ।’

प्रहरी र संस्थाका सञ्चालकबीच छलफल चलिरहँदा बचतकर्ता बिहान ७ बजेदेखि नै जिप्रकाको गेटमा पुगेका थिए। प्रहरीले उनीहरूलाई भित्र प्रवेश गर्न दिएको थिएन। गेटबाहिर उनीहरू आक्रोशित थिए। समूहमा धेरैजसो महिलाहरू सहभागी भएका थिए।

सञ्चालक सदस्यको राजीनामा

११ सदस्यीय सञ्चालक समितिमा दुई जनाको मृत्युपछि रिक्त छ। ९ सदस्यमध्ये उपाध्यक्ष रविन्द्र थापा, चन्द्रप्रकाश तिमिल्सैना, कृष्णविक्रम केसी, अंगदराम कुर्मी, नन्दकिशोर गाहा, तुलसा थापा र रत्ना राणासहित ७ जनाले २ जेठमा राजीनामा दिएका छन्। अध्यक्ष चौधरी र सदस्य परमानन्द वर्मा मात्र सञ्चालक छन्। उनीहरूको राजीनामा भने स्वीकृत भएको छैन।

उपाध्यक्ष थापा र सञ्चालक सदस्य तिमिल्सैनाले संस्थामा भए को अनियमिमता रोक्न नसक्दा नैतिकताका आधारमा राजीनामा दिएको बताए। १६ वैशाखमा अभियुक्तबाट १६ करोड रुपैयाँ असुलका लागि एकबर्से समयबारे अध्यक्षसँग विवाद भएपछि राजीनामा दिएको उनीहरूको भनाइ छ। तर सोमबार जिप्रकामा संस्थाको बैठकमा भने उनीहरू सदस्यकै हैसियतमा सहभागी भएका थिए। अध्यक्ष चौधरी १५ वैशाखको रकम असुलीका लागि एक वर्ष समय तोक्ने निर्णय सर्वसम्मत भएको बताउँछन्। – अन्नपूर्ण दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार