बन्द भएको चारवर्षपछि आजबाट तातोपानी नाका सञ्चालनमा

काठमाडौं, १५ जेष्ठ – चार वर्षदेखि बन्द रहेको नेपाल–चीन जोड्ने पहिलो तातोपानी नाका बुधबारबाट औपचारिक रुपमा सञ्चालन हुन लागेको छ। नेपाल चीनबीच नाका सञ्चालनको सहमतिपछि तातोपानीमा भन्सार लगायत सम्बन्धित कार्यालयले आफ्नो तयारी पूरा गरेका छन्।

२०७२ बैशाख १२ को भूकम्पले दुबै तर्फको भौतिक संरचनामा क्षति पुर्‍याएपछि बन्द भएको नाका उद्योग बाणिज्य मन्त्री मातृका यादवको उपस्थितिमा बुधबारबाट पुनः सञ्चालनमा ल्याउन लागिएको हो। भूकम्पले क्षति पुर्‍याएको तातोपानी क्षेत्रमा २०७३ साउनमा भोटेकोशी नदिले सडक लगायत संरचनामा थप क्षति पुर्‍याएपछि नाका सञ्चालनमा अन्यौलता थपिएको थियो।

स्थानीय व्यवसायी, राजनीतिक दल, जनप्रतिनिधि एवम् नेपाल सरकारको लामो प्रयत्नपछि चिनियाँ पक्ष नाका पुनः सञ्चालनमा ल्याउन सहमत भएको हो। नाका पुनः सञ्चालनमा आउने भएपछि आम्दानीको स्रोत खोसिएका स्थानीय खुसी भएका छन्।

औपचारिक रुपमा व्यवसाय सञ्चालनमा आउने भएपछि भन्सार, अध्यागमन लगायत सम्बन्धित कार्यालयका कर्मचारी तातोपानी पुगिसकेका छन्। भन्सारले व्यवसाय सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा गरिसकेको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत कृष्ण बस्नेतले बताए। बस्नेतका अनुसार पूरानो भन्सार कार्यालयको लिपिङमा कन्टेनर शिल गरी ६ किलोमिटर तल लार्चामा नवनिर्मित सुख्खा बन्दरगाहमा सामान जाँच गरी पठाउने व्यवस्था मिलाईएको छ।

‘बुधबार औपचारिक रुपमा व्यापार सुरु हुने छ’, बस्नेतले भने, ‘पूर्ण रुपमा सञ्चालनमा आउन भने केही समय लाग्न सक्छ।’ भन्सारले नियमित व्यापार सञ्चालन गर्न सक्ने व्यवस्था मिलाई सकेको पनि बस्नेतले जानकारी दिए। ‘हाम्रो तर्फबाट भन्दा पनि चिनियाँको कारण पूर्ण व्यापार सञ्चालनमा आउन केही दिन लाग्न सक्छ’, बस्नेतले भने, ‘हामी भोलीदेखि नै पूर्ण रुपमा कारोबार अघि बढाउन तयारी हालतमा छौं।’

भूकम्पले मितेरी पुल समेतको क्षति पुर्‍ाएपछि लार्चामा बन्दै गरेको सुख्खा बन्दरगाह निर्माणमा समेत समस्या परेको थियो। चीन सरकारको सहयोगमा २० करोड रुपैयाँ ९आठ दशमलव ६२ करोड युआन० को लागतमा सुविधासम्पन्न सुख्खा बन्दरगाहको निर्माण पनि हालै सम्पन्न भएको हो। भूकम्पपछि बन्दरगाहसँगै ६ किलोमिटर सडक र मितेरी पुलको चीन सरकारले पुर्ननिर्माण गरेको थियो। बाह्रबिसेदेखि लार्चासम्मको सडक सडक डिभिजन कार्यालय दोलखाले मर्मत गरेको हो।

तातोपानी नाकाबाट पुनः व्यवसाय सञ्चालन हुन लाग्दा व्यवसायीमा मात्र नभएर स्थानीयमा समेत खुसीयाली छाएको सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष बेदबहादुर श्रेष्ठले बताए। नाका नियमित सञ्चालन हुनासाथ व्यवसाय सुरु गर्न व्यवसायीहरु आतुर रहेको उनी बताउँछन्। ‘लामो समयको प्रतीक्षापछि नाका सञ्चालन हुन लागेको छ, हामी व्यापार सुरु गर्छौं,’ अध्यक्ष श्रेष्ठले भने। – अन्नपूर्ण

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार