ड्रोनले खकारको नमुना स्वास्थ्य संस्थासम्म पुर्‍याउँन थाले पछि क्षयरोग पत्ता लगाउँन सहज

काठमाडौं, २१ जेष्ठ  — स्वास्थ्यचौकीदेखि घर टाढा छ । स्वास्थ्य जँचाउन लैजाने मान्छे छैन । हिंड्डुल गर्न सकिँदैन । अब यस्ता समस्या हुँदैमा क्षयरोग परीक्षण नरोकिने भएको छ । प्यूठानमा ड्रोनले खकारको नमुना स्वास्थ्य संस्थासम्म पुर्‍याउँछ ।


प्यूठान नगरपालिका–४ मा आइतबार ड्रोनमार्फत ढुवानी गरेर ल्याइएको बिरामीको नमुना खकार निकाल्दै स्वास्थ्यकर्मी । तस्बिर— गिरुप्रसाद कान्तिपुर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले आइतबार प्यूठान नगरपालिका–४, बिजुवारबाट ड्रोन उडाएर नमुना संकलन कार्यको सुरुआत गरेका छन् । बिजुवारबाट उडेको ड्रोनले १० मिनेटमा प्यूठान नगरपालिका–७ स्थित खप्रेङखोलाको धर्मावती स्वास्थ्यचौकीमा पुगेर बिरामीको खकारको नमुना ल्याएको थियो ।

स्वास्थ्य संस्थाबाट नमुना संकलन गरेपछि ड्रोनले परीक्षणका लागि विशेषज्ञ अस्पतालमा पुर्‍याउने गर्छ । ड्रोनमा खकारका नमुना राख्ने र उडाउने तालिम स्वास्थ्य संस्थाका कर्मचारीलाई दिइएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । दुर्गम क्षेत्रमा रहेका क्षयरोगीको पहिचान गरेर उपचार गर्न बिराट नेपाल मेडिकल ट्रस्टको आर्थिक तथा प्राविधिक सहयोगमा ड्रोन प्रयोगमा ल्याइएको जनस्वास्थ्य प्रमुख विशाल सुवेदीले बताए । सन् २०५० सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्यअनुसार काम गरिरहेको उनले बताए ।

नयाँ प्रविधिबाट रोग पत्ता लगाउन र उपचार गर्न सहज हुने उनले बताए । ‘क्षयरोग नियन्त्रण गर्न ड्रोन प्रयोगले धेरै फाइदा पुग्ने विश्वास गरेका छौँ,’ उनले भने, ‘यसले स्वास्थ्यकर्मीमा नयाँ उत्साह थपेको छ ।’ एक वर्ष परीक्षण अवधि रहने र सफल भए कार्यक्रम थप गर्ने सुवेदीले बताए । जिल्लाको स्वर्गद्वारी र प्यूठान नगरपालिकामा ड्रोनको प्रयोग भइरहेको सुवेदीले बताए ।

जिल्लामा दुइटा ड्रोनबाट खकार संकलन र औषधि ढुवानी गर्न थालिएको फलाइङ ल्याब ड्रोन नेपाल प्रालिका संयोजक उत्तम पुडासैनीले बताए । उनका अनुसार एउटा ड्रोन जिल्ला अस्पताल बिजुवार र अर्को प्राथमिक स्वाथ्य केन्द्र भिंगृमा रहनेछ । ‘दुवै स्थानीय तहका स्वास्थ्य संस्थामा परीक्षण उडान गरिसकेका छौँ,’ उनले भने, ‘ड्रोन उडाउन समस्या छैन ।’ स्थानीय तह, प्रदेश र केन्द्रको सञ्चार र गृह मन्त्रालयबाट स्वीकृति लिएर जिल्लामा ड्रोनमार्फत औषधि र खकारको नमुना ढुवानी गर्न थालेको उनले बताए ।

ड्रोनले एकपटकमा सात किलोसम्म ढुवानी गर्न सक्ने पुडासैनीले बताए । ‘३० मिनेटसम्म ड्रोन उडाउन सकिन्छ,’ उनले भने, ‘प्रतिमिनेट एक किलोमिटर दूरी पार गर्छ ।’ जिल्ला जनस्वास्थ्यको तथ्यांकअनुसार जिल्लामा ३ सय ८९ क्षयरोगी छन् ।

प्यूठान नगरपालिकामा ८१ र स्वर्गद्वारीमा ६१ जना बिरामी छन् । प्यूठान अस्पताल बिजुवार र प्राथमिक स्वास्थ केन्द्र भिंगृमा जोन एक्स्पर्ट मेसिनबाट क्षयरोग परीक्षण गर्न थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ । ‘स्मार्ट पिलबक्समा औषधि राखेर जिल्लाका ५८ स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि खुवाउने योजना छ,’ जनस्वास्थ्य प्रमुख विशाल सुवेदीले भने, ‘त्यस बक्समा चिप्स प्रयोग गरिने भएकाले बिरामीले औषधि खाएरनखाएको निगरानी गर्न सकिन्छ ।’ – कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार