पशुपतिनाथको नगद सम्पती जम्मा एक अर्ब २९ करोड, आठ किलो सुन

काठमाडौं, २२ जेठ विश्वभरीका हिन्दुधर्मालम्बीहरु आस्थाको धरोहर पशुपतिनाथको सम्पती कति होला ? जिज्ञासा लाग्न सक्छ । आज पत्रकार सम्मेलन गरि पशुपतिनाथको सम्पती पहिलो पटक सार्वजनिक गरिएको छ । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदले २०७४ कात्तिक ६ गते पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन तथा छानविन समिति गठन गरेको थियो ।

२०७५ सालसम्ममा पशुपति नाथ मन्दिरको सम्पतीमा नगद एक अर्ब उन्नतिस करोड अठतिस लाख एकतिस हजार दुई सय पन्ध्र रुपैयाँ बाउन्न पैसा रहेको छ । त्यसैगरि प्राप्त तायदाती मुचुल्का अनुसार वि.सं. २०१९देखि २०६८ सम्मको ८ (आठ) किलो २३२ (दुई सय बत्तिस) ग्राम सुन र १७५ (एक सय पचहत्तर) किलो ४५८ (चार सय अन्ठाउन्न) ग्राम चाँदी मुल ढुकुटी दाखिला भएको देखिएको छ ।

वि.सं. २०६९ साल देखि २०७५ सालसम्म कोषको सम्पत्ति संरक्षण महाशाखाबाट प्राप्त विवरण अनुसार सुन १०४४.६४ (एक हजार चवालिस दशमलव चौसठ्ठी) ग्राम र चाँदी १४११२८.७५ (एक लाख एकचालिस हजार एक सय अठ्ठाइस दशमलव पचहत्तर) ग्राम गरी वि.सं. २०१९ देखि २०७५ सम्ममाा जम्मा सुन ९ किलो २७६.६४ (दुई सय छैहत्तर दशमलव चौसठ्ठी) ग्राम भएको चाँदी ३१६ (तीन सय सोह्र) किलो ५८६ (पाँच सय छयासी) ग्राम  पशुपतिनाथको मूल ढुकुटीमा भएको अभिलेखबाट देखिएको छ । समितिका अनुसार यो २०१९ देखि २०७५ सम्मको विवरण हो ।

उक्त समितिले समयमा प्रतिवेदन बुझाउन नसकेपछि २०७५ साउन २९ गते ६ महिना म्याद थप गरिएको थियो । समितिले हालै प्रतिवेदन तयार गरेर बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । २०१९ भन्दा अगाडिको मुचुल्का प्राप्त नभएको समितिले जनाएको छ ।

पत्रकार सम्मेलनमा पशुपति क्षेत्रमा रहेको चर्चको जग्गालाई पनि कानुन संबत तवरबाट कोषमा भित्राइने जानकारी दिइएको थियो ।

यस्तो छ विवरण :-

पशुपति क्षेत्र विकास कोष संचालक परिषद्को अध्ययन तथा छानविनको कार्य सम्पन्न भए पनि अन्तिम प्रतिवेदन हालै मात्र तयार हुन सकेकोले प्राप्त हुन आएसम्मका कागज प्रमाणका आधारमा तयार गरिएको विस्तृत प्रतिवेदन पेश गरिएकोले प्रतिवेदनको संक्षिप्त व्यहोरा देहाय अनुसार जानकारी प्राप्त भएको छ ।

चल सम्पत्तितर्फ
श्रीपशुपतिनाथको मूल ढुकुटी
क) साविक देखिएको श्रीपशुपतिनाथ मन्दिर भित्रको मूल ढुकुटीमा के कति सुन चाँदी जवाहरत आदि छन् भन्ने सम्बन्धमा सम्मानित श्री सर्वोच्च अदालतको मिति २०६६–९–२७ को उत्प्रेषणयुक्त परमादेशको आदेशबाट त्यसको यकिन गर्ने कार्य स्थगित भएको छ ।
ख) पशुपतिनाथ भण्डार तहविलबाट प्राप्त तायदाती मुचुल्का अनुसार वि.सं. २०१९देखि २०६८ सम्मको ८ (आठ) किलो २३२ (दुई सय बत्तिस) ग्राम सुन र १७५ (एक सय पचहत्तर) किलो ४५८ (चार सय अन्ठाउन्न) ग्राम चाँदी मुल ढुकुटी दाखिला भएको देखिएको छ ।
वि.सं. २०६९ साल देखि २०७५ सालसम्म कोषको सम्पत्ति संरक्षण महाशाखाबाट प्राप्त विवरण अनुसार सुन १०४४.६४ (एक हजार चवालिस दशमलव चौसठ्ठी) ग्राम र चाँदी १४११२८.७५ (एक लाख एकचालिस हजार एक सय अठ्ठाइस दशमलव पचहत्तर) ग्राम गरी वि.सं. २०१९ देखि २०७५ सम्ममाा जम्मा सुन ९ किलो २७६.६४ (दुई सय छैहत्तर दशमलव चौसठ्ठी) ग्राम भएको चाँदी ३१६ (तीन सय सोह्र) किलो ५८६ (पाँच सय छयासी) ग्राम श्रीपशुपतिनाथको मूल ढुकुटीमा भएको अभिलेखबाट देखिएको छ । वि.सं. २०१९ भन्दा अगाडिको तायदाती मुचुल्का प्राप्त हुन आएको छैन ।
बम्बे ढुकुटी
श्रीपशुपतिनाथको भान्छा घरमा रहेको बम्बे ढुकुटीमा भएका भाँडा वर्तन आदिको अभिलेख राख्न हाल कोषबाट भान्छा घर भत्काई पुनः निर्माण गर्ने कार्य शुरु हुन गइरहेकोले सो क्रममा सो स्थानमा रहेका भाँडा वर्तनका किसिम र परिमाणको छुट्टै मुचुल्कामा उल्लेख हुने नै हुँदा सो मुचुल्का प्राप्त भएका बखत विवरण सार्वजनिक हुनेछ ।
नगद मौज्दात
नगद मौज्दात तर्फ कोषको सम्पत्ति संरक्षण तथा आर्थिक प्रशासन महाशाखाबाट प्राप्त विवरण अनुसार रु. १,२९,३८,३१,२१५।५२ (एक अर्ब उन्नतिस करोड अठतिस लाख एकतिस हजार दुई सय पन्ध्र रुपैयाँ बाउन्न पैसा) विभिन्न बैंकमा मौज्दात रहेको छ । सो रकम मध्ये रु. १ अर्ब अक्षय कोष निर्माण गरिएको छ । अक्षय कोषमा राखिएको रकमको प्राप्त हुने ब्याजबाट केही रकम सामाजिक सेवा एवं विपत्का बेलामा खर्च गरिने नीति लिइने छ ।
गुठ संस्थातर्फ
गुठी संस्थाले असुल उपर गरी श्रीपशुपति क्षेत्रभित्र चलाउन पर्ने महास्नान गुठी समेत गरी जम्मा १९५ वटा गुठी रहेको र सोसँग सम्बन्धित मठ मन्दिरका देवी देवताका अंगमा लगाएको र ढुकुटीमा भएको गर गहना तथा जिन्सी सामानहरुको विवरण गुठी संस्थासँग माग गरिएकोमा विवरण प्राप्त हुन नआएकाले समावेश हुन सकेको छैन ।
अचल सम्पतितर्फ
कोष मातहतको तीन कार्यालयको जग्गा
क) दर्ता प्रमाणित जग्गा क्षेत्रफल रोपनी ३६६७–४–३–० (तीन हजार छ सय सतसठ्ठी रोपनी चार आना तीन पैसा) देखिन्छ ।
ख) साविक लगतको दर्ता प्रमाणित हुन बाँकी जग्गा क्षेत्रफल रोपनी २३१–१०–०–१ (दुई सय एकतिस रोपनी दश आना एकदाम) ।
ग) त्रिभुवन विमानस्थल र गल्फ कोर्ष रहेको जग्गा ९९ वर्षको लागि सम्झौता गरी भोग चलनमा दिएको क्षेत्रफल रोपनी ११६१–१४–३–० (एघार सय एकसठ्ठी रोपनी चौध आना तीन पैसा) रहेको छ ।
घ) मोही तारागाउँ रिजेन्सी होटल भएको क्षेत्रफल रोपनी १७–०–०–० (सत्र रोपनी)
कोषले अधिग्रहणबाट प्राप्त गरेको जग्गा
मिति २०५९–१–१ को अधिग्रहरणबाट प्राप्त कोर क्षेत्रको– १०० रोपनी
मिति २०६२–७–२२ को बि १२ क्षेत्र अधिग्रहणबाट प्राप्त – १९ रोपनी
मिति २०६४–३–३२ को बि ११ क्षेत्र अधिग्रहरणबाट प्राप्त – २९ रोपनी
मिति २०७०–२–३० को बि १३ क्षेत्र अधिग्रहणबाट प्राप्त जग्गा क्षेत्रफल – ४४
मिति २०७०–२–३० को अधिग्रहण सूचनाबाट बि १३ बाहेक सार्वजनिक प्रकृतिका क्षेत्रफल– १३११, जम्मा १५०५ ।
गोठाटार
वि.सं. २०४६ सालमा कोषको नाममा नेपाल सरकारले उपलब्ध गराएको पाखो जग्गा क्षेत्रफल रोपनी ५३४–०–०–० –पाँच सय चौतिस रोपनी) रहेको छ ।
पाटी, पौवा, सत्तल
पशुपति क्षेत्र भित्र जम्मा ११९ वटा पाटी, पौवा, सत्तल रहेका छन् ।
गुठी संस्थानतर्फ
गुठ संस्थान अन्तर्गतको पशुपति क्षेत्र भित्रका १९५ वटा गुठीको जग्गाको विवरण तथा सो सँग सम्बन्धित जग्गा र सो को आम्दानीको विवरण माग गरिएकोमा हालसम्म सो को विवरण प्राप्त नभएकोले प्रतिवेदनमा समावेश गर्न सकिएन । गुठी संस्थाको वार्षिक प्रतिवेदन २०५६ मा उल्लेखित पशुपति क्षेत्रभित्रका गुठी संस्थाले असुल उपर गरी पशुपति क्षेत्रभित्र चलाउनु पर्ने महास्नान लगायतका विभिन्न गुठीको जग्गाको क्षेत्रफल ११२६१–०–३–१ (एघार हजार दुई सय एकसठ्ठी रोपनी तीन पैसा एकदाम) देखिन्छ ।
कोष मातहतको तीन कार्यालय र गुठी संस्थान अन्तर्गतको पशुपति क्षेत्र भित्रका पशुपतिनाथसँग सम्बन्धित जग्गा जग्गाको क्षेत्रफल रोपनी १८३४२–२–०–२ (अठ्ठार हजार तीन सय वयालिस रोपनी दुई आना दुई दाम) रहेको विवरणबाट देखिएको छ ।
कारबाहीको क्रममा रहेका जग्गाहरु
मिति २०७४–१२–१७ को गोरखापत्र दैनिक, मिति २०७५–१–११ को कान्तिपुर दैनिक तथा मिति २०७५–१–२८ गतेको गोरखापत्र दैनिकमा प्रकाशित सूचनाका आधारमा छानविन समितिमा पर्न आएका निवेदनहरुको सम्बन्धमा अध्ययन, छानविन गरी विज्ञको सिफारिस सहितको प्रतिवेदन पेश गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार