सामाजिक रूपान्तरणको चरणमा रहेका राउटे समुदायको बस्तीमा पुग्नेको संख्या बढेपछि गाउँपालिकाले यसलाई पर्यटन व्यवसायका रूपमा अगाडि बढाउने तयारी गरेको छ।
‘राउटेलाई हेर्न आउनेको संख्या बढ्दो छ। जथाभाबी प्रवेश गर्ने भीडले राउटेको संस्कृति हराउने खतरा छ’, गाउँपालिकाका अध्यक्ष खेमराज वली भन्छन्, ‘हामीले राउटे समुदायलाई रूपान्तरण गर्दैछौं। राउटे बस्तीमा छिर्दा टिकट काट्नुपर्छ।’ टिकट व्यवस्थाले राउटे बस्तीमा जथाभाबी प्रवेश गर्ने प्रवृत्ति नियन्त्रण हुने र आम्दानी पनि हुने गाउँपालिकाको दाबी छ। टिकटबाट संकलित रकम राउटेको उत्थान र संरक्षणमा लगानी गरिनेछ।
हाल राउटे बस्तीमा सहयोगका नाममा पुग्नेको लर्को लाग्ने गरेको छ। टिकट शुल्कबारे भने छलफल भइरहेको अध्यक्ष वलीले बताए। राउटे समुदाय बस्दै आएको वडा नम्बर ५ का वडाध्यक्ष सुरेन्द्रकुमार महताराले भने, ‘राउटे समुदाय पर्यटनको मुख्य आकर्षण पनि हो। राउटेको अवलोकन गर्न दिनहुँ मानिसको लर्को लाग्ने गरेको छ।’ टिकटबाट संकलित रकम राउटेकै शिक्षा, स्वास्थ्य र संस्कृति संरक्षणमा खर्च गरिने उनले बताए।
बुबैराखेस्थित राउटे बस्तीमा तारबारको काम थालिएको छ। बस्ती खुला हुँदा बाहिरबाट मानिस जथाभाबी प्रवेश गर्न थालेको र राउटेलाई कुलतमा फसाउन थालेपछि तारबार गर्न लागिएको गाउँपालिकाले जनाएको छ। तारबारसँगै राउटे बस्तीमा दुई जना चौकीदार पनि राखिनेछ। उनीहरुले नै बाहिरबाट आउने मानिसलाई टिकटको आधारमा मात्र प्रवेश दिनेछन्। यसले राउटे पनि सुरक्षित हुने विश्वास छ। अर्कोतर्फ राउटेको नाममा आउने राहत र सहयोगको पनि तथ्यांक हुने र सहयोगमा दोहोरापना पनि हट्ने गाउँपालिकाको तर्क छ।
कर्णाली प्रदेशका जंगलमा घुमन्ते जीवन बिताउँदै आएका राउटेहरु काठका सामान र भाँडा बनाएर जीविकोपार्जन गर्दै आएका छन्। घुमन्ते जीवनका कारण राउटेको संख्या घटेको र उनीहरूको खानपानमा समस्या भएपछि यसअघि गुराँस गाउँपालिकाले पहिलोपटक राउटे समुदायलाई स्थायी नागरिकको परिचयपत्र प्रदान गरिसकेको छ। सोही परिचयपत्रका आधारमा सरकारले सामाजिक सुरक्षाबापत उपलब्ध गराउने मासिक भत्ता गाउँपालिकाले वितरण गरिरहेको छ। अहिले राउटे समुदायको संख्या एक सय ४५ जना छ। – अन्नपूर्ण