यसरी हुदैछ राज्यशक्तिको दुरुपयोग ! बूढानीलकण्ठको १४ रोपनी जग्गा एनजीओलाई

काठमाडौं, २७ जेठ – बूढानीलकण्ठ नगरपालिकाले आफ्नो स्वामित्वको सरकारी जग्गा बिनाप्रतिस्पर्धा गैरसरकारी संस्थालाई दिएको खुलेको छ । बूढानीलकण्ठ–२ साबिक चपली भद्रकाली ६(ख)१ को कित्ता नम्बर ७१ को १३ रोपनी १४ आना सरकारी जग्गा परिवर्तन सञ्चार समूहलाई दिएको छ ।

जेठ १३ को नगर कार्यकारी बैठकले यो एनजीओलाई गैरनाफामूलक संस्था भन्दै ३० वर्षका लागि लिज दिन सम्बन्धित निकायमा सिफारिस गरेको छ । नगरपालिकाले लिज दिन मन्त्रिपरिषद्को निर्णय चाहिन्छ । नगरपालिकाले जग्गा लिजमा दिने निर्णय गराउन प्रधानमन्त्री केपी ओलीका विदेश मामिला सल्लाहकार डा.राजन भट्टराईमार्फत लबिङ गरिरहेको छ ।

बूढानीलकण्ठ नगरपालिकाका सूचना अधिकारी टंकराज चिमोरियाले नगरपालिकाले लिजमा दिने निर्णय गरेर जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सिफारिस गरेको जानकारी दिए । ‘गैरनाफामूलक संस्थालाई लिजमा जग्गा उपलब्ध गराउने सिफारिससम्म नगरपालिकाले गरेको हो’, उनले भने, ‘लिज दिने अधिकार स्थानीय निकायलाई हुँदैन, मन्त्रिपरिषद्ले गर्नु पर्छ ।’

यो संस्थाले ३/४ महिना पहिला नै सञ्चारगृह (एफएम) र गायत्री पार्क बनाउने प्रस्ताव नगरपालिकामा पेस गरेका थियो । एनजीओको प्रस्ताव वडा नम्बर २ को सिफारिसपछि नगरपालिकाको पूर्वाधार विकास समितिले कार्ययोजना अध्ययन गरेको थियो । समितिले कार्ययोजना राम्रो भएकाले दिए हुने सहमति दिएपछि नगरपालिकाले निर्णय गरेको सूचना अधिकारी चिमोरियाले बताए । – अन्नपुर्ण पोष्ट दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार