कर्मचारी र सेवाग्राहीबीच कार्यालयमै झडप, पाँच घाइते

बारा, २७ जेठ – कलैयास्थित नेपाल विद्युत प्राधिकरण कार्यालयमा सोमबार प्राधरिकरणका कर्मचारी र उपभोक्ताबीच झडप भएको छ। विद्युत प्राधिकरणका कर्मचारीले बाँसको फाटाले प्रहार गर्दा तीन जना उपभोक्ता घाइते भएका छन्।  घाइते हुनेमा कलैया उपमहानगरपालिका वडा नम्बर ९ रामपुरका राम बिहारी राउत अहिर, वीरेन्द्र यादव र राजेश नामका रहेका छन् ।  उनीहरूलाई कलैयास्थित जिल्ला अस्पतालमा उपचार गरिएको छ।

सोमबार बिहान ३ बजे विद्युत प्राधिकरणकाे लापरबाहीका कारण  हाइ भोल्टेज करेन्ट प्रबाह हुँदा टिभी, फ्रिज, पंखा, पानी तान्ने मोटर लगायत घरायसी विद्युतीय सामग्री जलेर नष्ट भएपछि क्षतिपूर्तिको माग गर्दै रामपुरका उपभोक्ता कलैया बजारस्थित विद्युत प्राधिकरणको कार्यालय घेराउ गर्न पुगेका थिए।

कार्यालयको मूल गेटमै धर्ना र प्रदर्शनमा रहेका रामपुरका उपभोक्तामाथि प्राधिकरणका कर्मचारीले बाँसको फाटाले प्रहार गरेको रामपुरका स्थानीय कन्हैया महत्तोले बताए।

चार दर्जन भन्दा बढीकाे  संख्यामा विद्युत प्राधिकरणका कार्यालय पुगेका स्थानीयवासीले कार्यालय प्रमुख गजेन्द्र चौधरीलाई कार्यालय परिसरमा बोलाउन माग गर्दै प्रदर्शन गर्न थालेपछि कार्यालयका कर्मचारीले उनीहरूमाथि आक्रमण गरेको बुझिएकाे छ ।

बिहान ११ः३० बजेदेखि प्राधिकरण कार्यालयको मूल गेट बन्द गरी धर्नामा बसिरहेका प्रदर्शनकारीमाथि प्रहरी पुगेपछि प्राधिकरणका कर्मचारीले आक्रमण गरेको एक प्रदर्शनकारीले बताए।

विद्युत प्राधिकरण कलैयामा कार्यरत फोरम्यान परबेज आलमले भने प्रदर्शनमा आएको अराजक भिडले कर्मचारीहरू माथि हातपात र आक्रमण गर्न थालेपछि आत्मरक्षाका लागि कर्मचारीले प्रतिकार गरेको बताएका छन् ।

प्रहरीले तीन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ। उपभोक्ता र कर्मचारीबीच झडप भएपछि कलैयास्थित विद्युत प्राधिकरण कार्यालय सोमबार बन्द भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार