पुलको शिलान्यास गरेर फर्केका यातायात मन्त्रीको गाडी खोलामा डुब्याे

स्याङ्जा, २८ जेठ- साेमबार स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका ३ स्थित दरौखोलामा निर्माण गरिने मोटरेबल पुलको शिलन्यास गर्न स्याङ्जा आएका भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठको गाडी दरौ खोलामा भासिएको थियो । पुलको शिलन्यासपश्चात पोखरा फर्किने क्रममा नदी तर्दै गर्दा गाडीभासिएको हो ।

बा २ झ ४०२९ नम्बरको कालो रंगको गाडी पल्टिएपश्चात स्थानीय, नेकपाका जिल्ला नेता तथा सुरक्षाकर्मीले उठाएका थिए । खोलामा पुल नभएकै कारणले फसेको हो । खोला तर्ने क्रममा गाडी डुबे पनि मन्त्री भने सकुशल रहेका छन् । खोलामा डुबेको कारलाई क्रेनको साहेताले  बाहिर निकालिएको थियाे ।

मन्त्रीका गाडी चालकलाई ग्रामीण सडकको बारेमा राम्रोसँग जानकारी नहुँदा उक्त दुर्घटना हुन पुगेको सहभागीहरूकाे  बुझाइ रहेकाे छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले शिलन्यास कार्यक्रमलाई सम्बाेधन गर्दै सरकारको अबको एजेण्डा विकास भएकाेले  विकास निर्माणमा टुटेर नभई सबै जुट्नु पर्ने बताए ।

चुनावकाे बेलामा गरेका वाचालाई पूरा गर्न लागेको बताउँदै मन्त्री महासेठले सरकारले ल्याएको बजेटबाट नागरिकले राम्रोसँग जानकारी पाइसकेको जनाए । अहिलेको बजेटमा देशभरका ८० सडकलाई प्राथमिकतामा राखेको बताउँदै मन्त्री महासेठले स्याङ्जाको सेतिदोभान–घण्टे–पर्वत सडक र वालिङ–बारिकुना–चापाकोट–रामपुर सडक परेको जानकारी दिए ।

सरकारले स्याङ्जालाई विशेष ढंगले हेरेको बताउँदै मन्त्री महासेठले सिद्धार्थ राजमार्गलाई चार लेनको बनाउन लागेको बताए । कार्यक्रममा मुख्य सचिव लोकदर्शन रेग्मीले पुललाई चाँडो निर्माण गरेर सुरु गर्न आग्रह गरेका छन् ।

गाउँ गाउँमा सडक सञ्जाल जाेड्न सके आर्थिक बिकासमा टेवा पुग्ने बताउँदै मुख्य सचिव रेग्मीले आफू स्याङ्जाको भएकाले यहाँको विकासमा सधैँ सहयोग गर्ने बताउए । सडक डिभिजन कार्यालय पोखराले निर्माण गर्न लागेको पुल अर्जुन चौपारी–३ हँदै आँधीखोला–१ जोड्ने मार्ग हो ।

पुल तीन करोड सात लाख सात हजार ५ सय १० रुपैयाँमा निर्माण हुन लागेको हो । डेढ वर्षमा निर्माण सक्ने गरी जीएसआर निर्माण सेवा पोखराले काम थालेको डिभिजन प्रमुख हरिप्रसाद पोखरेलले जानकारी दिए ।

खोलामा पल्टिएका मन्त्रीलाई पनि सुरक्षाकर्मीले गाडीबाट निकालेका थिए । मन्त्रीलगायत गाडीमा सवार सवैजना पानीका रजेको स्थानीयले बताएका छन् । गाडीमा सवार मन्त्रीसहित दुईजना सुरक्षाकर्मी, चालक र अन्य एकजना स्थानीय नेता रहेको बताइएको छ । उनीहरुलाई सामान्य चोट लागेको छ । गाडीलाई जेसिबीको सहायताले खोला बाहिर ल्याइएको थियो । – कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार