काठमाडाैं, ५ असार – पछिल्लो डेढ महिनामा काठमाडौंको डल्लु क्षेत्रमा चार युवतीमाथि ‘सिरिन्ज’ आक्रमण भएको छ । एउटा घटना डेढ महिनाअघि भए पनि पछिल्ला केही दिनमा उस्तै प्रकृतिका तीन घटना दोहोरिएका छन् ।
सिरिन्ज आक्रमणमा परेका चार युवती उपचारका लागि आएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले बताए । उनीहरू सबैको कम्मरमा काँटीले कोपेजस्तो प्वाल रहेको र असैह्य पीडा भएपछि आएको उनले बताए ।
गुडिरहेको मोटरसाइकलबाटै सिरिन्ज आक्रमण भएको पीडितहरू बताउँछन् । सबैको कम्मरकै भागमा प्वाल छ, छालाभित्रसम्म रगत आउने गरी घाउ भएको छ, डा. बाँस्तोलाले भने, रातिको समयमा घरबाहिर आक्रमणमा परेको उनीहरू बताउँछन् । घटनाबारे चारै युवतीको भनाइ एकै खालको छ,’डा. बाँस्तोलाले भने ।
एचआइभी तथा हेपाटाइटिस बी र सी संक्रमित सिरिन्ज प्रहार गरिएको हुन सक्ने चिकित्सकहरूको आशंका छ । एचआइभी, हेपाटाइटिस ‘बी’ र ‘सी’जस्ता रोग सिरिन्जको माध्यमबाट अर्कोमा सर्न सक्छ । तर, उनीहरूमा यी रोग संक्रमण भए–नभएको रिपोर्ट आउन कम्तीमा तीन महिना लाग्ने डा. बाँस्तोलाले बताए । हाल चारै युवतीको स्वास्थ्य सामान्य छ । उनीहरू २० देखि ३० वर्ष उमेरका छन् ।
प्रहरीले थाल्यो अनुसन्धान
प्रहरी अनुसन्धानमा युवतीहरूलाई सिरिन्ज वा अन्य धातुले प्रहार भएको हो भन्ने अझै यकिन भएको छैन । ‘पीडितको उजुरीअनुसार अनुसन्धान भइरहेको छ, महानगरीय प्रहरी कार्यालयकी प्रवक्ता एसएसपी किरण बज्राचार्य भन्छिन्, सिसिटिभीको समेत सहायतामा अभियुक्तहरूको पहिचान गर्ने काम भइरहेको छ ।
— नयाँ पत्रिका दैनिक