धनुषा, ५ असार – जनकपुरधाम उपमहानगरपालिका–२ कदम चोकमा बिहीबार बिहान आगलागीका कारण होटलमा राखिएको ग्यास सिलिण्डर पड्किँदा तीन होटल जलेर नष्ट भएको छ ।
आधा दर्जन खाना पकाउने ग्यासको सिलिण्डर क्रमशः विस्फोट भएको प्रहरीले जनाएको छ । कदम चोकमा रहेको गोविन्द मिष्टान्न भण्डारमा आगलागी भएको थियो ।
जिल्ला प्रहरी कार्यालय, धनुषाका एसपी शेखर खनालका अनुसार प्रारम्भिक अनुसन्धानले फि्रजको तार सर्ट भएर आगलागी सुरु भएको हुनसक्ने देखिएको छ ।
‘कामदारले आगलागी भएको थाहा पाउनासाथ प्रहरीलाई खबर गरेका थिए’, ‘खबर पाउनासाथ नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरिएको थियो ।’
उपमहानगरपालिकाका दुई वटा र महेन्द्रनगरको एउटा दमकलको सहयोगमा बिहीबार बिहान करिब ५ बजे आगो नियन्त्रणमा आएको खनालले बताए । क्षतिको पूर्ण विवरण आएको छैन । आगलागीको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।