नापी विभागको बोलपत्र अनियमितता: खरिद ऐनविपरीत २० करोड बढी प्रस्ताव गर्ने कम्पनी छनोट

काठमाडौं, ९ असार— नापी विभागले नेपालको डिजिटल नक्सांकनका लागि गरेको बोलपत्र आह्वानका क्रममा न्यून दररेट प्रस्ताव गर्ने कम्पनीलाई छाडेर २० करोड बढी प्रस्ताव गर्ने कम्पनीलाई छनोट गरेको पाइएको छ ।


सार्वजनिक खरिद ऐनअनुसार सबैभन्दा कम दर रेट प्रस्तुत गर्ने कम्पनी छनोट गनुपर्ने प्रावधान रहेकोमा यसविपरीत विभागले ५९ करोड रुपैयाँको दर रेट पेस गरेको एभियसन–पेनस–जिओम्याटिक्स–सिड जेभी गरी चारवटा संयुक्त कम्पनीलाई छनोट गरेको हो ।

विभागले न्यून दर रेट पेस गर्ने अन्य कम्पनीलाई पाखा लगाउँदै अन्यभन्दा २० करोड रुपैयाँ बढी दर रेट पेस गर्ने कम्पनीलाई अनियमित किसिमले छनोट गरी सम्झौता कार्य अघि बढाएपछि सो प्रक्रिया विवादित बनेको छ । यस क्रममा विभागले ३९ करोडको प्रस्ताव गर्ने कम्पनीलाई छाडेर ५९ करोडको प्रस्ताव पेस गर्ने कम्पनीको प्रस्तावलाई स्वीकृत गरेको हो । सो प्रक्रियाका लागि सबैभन्दा कममा संयुक्त लगानीको नयाँ राष्ट्रिय इन्जिनियरिङ कन्सल्टेन्सी प्रालि’ (एनआरईसी)सहितका चार कम्पनीले ३९ करोडको प्रस्ताव पेस गरेका थिए ।

विभागले ३० फागुन २०७५ मा सूचना प्रकाशन गरी इन्टरनेसनल बिडिङमार्फत बोलपत्र आह्वान गरेको थियो । बोलपत्रमा विभिन्न प्राविधिक र आर्थिक प्रस्तावसहित १३ कम्पनीले ई–बिडिङमार्फत बोलपत्रमा सहभागिता जनाएका थिए । सहभागी कम्पनीमध्ये सुरुको चरणमा सात कम्पनीको प्रस्ताव अस्वीकृत भएको थियो । बाँकी ६ वटा छनोटमा परेका थिए । छनोटमा परेकामध्ये तीन कम्पनीको आर्थिक प्रस्ताव स्वीकृत भएको थियो । आर्थिक प्रस्ताव स्वीकृत भएका कम्पनीलाई प्राविधिक प्रस्तावका लागि आह्वान गरिएको थियो ।

विभागले पनि प्रस्ताव स्वीकृत भएको पुष्टि गरेको छ । विभागका सूचना अधिकारी दामोदर ढकालले नियमअनुसार नै खरिद प्रक्रिया अगााडि बढाइएको दाबी गरे । ढकालले भने, ‘हामीले आर्थिक प्रस्ताव मात्रलाई आधार नमानी प्राविधिक प्रस्ताव समेतलाई हेरेर ५९ करोड प्रस्ताव गर्ने कम्पनीको प्रस्तावलाई स्वीकार गरेका हौं ।’
उनले खरिद ऐनअनुसार नै प्रक्रिया अगाडि बढेको दाबी गर्दै सम्झौता गर्न आउने आशयको सूचना प्रकाशन गरिएको जानकारी दिए । खरिद प्रक्रिया भने अन्त्य नभएको उनले बताए । उनले आफ्नो कम्पनीले छनोट भएको कम्पनीभन्दा २० करोड कममा अर्थात् ३९ करोडको प्रस्ताव गरे पनि अस्वीकृत गरिएको बताए ।
त्यसैगरी, छनोट भएको कम्पनीभन्दा ५ करोड कम अर्थात् ५४ करोड प्रस्ताव गर्ने जीईओकेएनओ कम्पनीको प्रस्ताव अस्वीकृत भएको छ । — राजधानी दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार