भारतलाई इङ्ल्याण्डले हराएपछि रोहितको शतक र सामीको पाँच विकेट ओझेलमा

काठमाडौं, १६ असार – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत आइतबार भएको खेलमा आयोजक इङ्ल्यान्डले जित हात पारेको छ । एजबास्टनमा भएको खेलमा इङ्ल्यान्डले अपराजित रहेको भारतलाई ३१ रनले पराजित गर्दै सेमिफाइनल पुग्ने सम्भावना जीवितै राखेको हो ।

इङ्ल्यान्ड आठ खेलबाट १० अंक बनाउँदै तालिकाको चौथो स्थानमा उक्लिएको छ । इङ्ल्यान्डले अन्तिम खेलमा बुधबार न्युजिल्यान्डको सामना गर्नेछ । विश्वकपमा सात खेल मात्रै खेलेको भारतले भने बंगलादेश र श्रीलंकासँग खेल्न बाँकी छ । भारतले सात खेलबाट ११ अंक जोडेको छ ।

इङ्ल्यान्डले दिएको ३३८ रनको विशाल लक्ष्य पछ्याएको भारतले पूरै ओभर खेल्दै पाँच विकेट गुमाएर ३०६ रन मात्र बनाउन सक्यो । भारतका लागि प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माले शतकीय पाली खेले । उनले १०९ बलमा १५ चौकाको मद्दतमा १०२ रन बनाए । यसैगरी कप्तान विराट कोहलीले पनि अर्धशतक बनाए । उनले ६६ रन बनाए ।  हार्दिक पाण्ड्याले ४५, महेन्द्रसिंह धोनीले ४२, रिषभ पन्तले ३२ र केदार जाधवले १२ रन बनाए । इङ्ल्यान्डका लियाम प्लुनकेटले तीन विकेट लिए । यस्तै क्रिस वाक्सले पनि दुई विकेट हात पारे ।

यसअघि एजबास्टनमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली इङ्ल्यान्डले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर ३३७ रन बनायो । इङ्ल्यान्डका जोनी बेयरस्टले शतक तथा जासन रोय र बेन स्टोक्सले अर्धशतक बनाए ।

प्रारम्भिक ब्याट्सम्यान बेयरस्टले आक्रामक ब्याटिङ गर्दै १११ रन बनाए । उनले १०९ बलमा ६ छक्का र १० चौका हिर्काए । यसैगरी स्टोक्सले ७९ र रोयले ६६ रन बनाए । स्टोक्सले ५४ बलमा तीन छक्का र ६ चौका तथा रोयले ५७ बलमा दुई छक्का र सात चौका हिर्काए । यसैगरी जोय रुटले ४४ र जस बटलरले २० रन बनाए ।

भारतका मोहमद सामीले पाँच विकेट लिए । यसैगरी जसप्रीत बुमराह र कुलदीप यादवले एकरएक विकेट हात पारे । यो सँगै यस विश्वकपमा भारतको अपराजित यात्रा टुंगिएको छ । हालसम्म भारत मात्रै अपरािजत टोली थियो । – अन्नपूर्ण दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार