यौन उन्मादको यो हद ! आमाको हत्या आरोपमा छोरी पक्राउ

विकृत बन्दै समाज, बच्चाबाट खुल्यो हत्याको पोल

काठमाडौं, १७ असार- भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बाँसबारीकी ६१ वर्षीया सावित्रा भट्टराईको हत्यामा उनकै छोरीको संलग्नता रहेको खुलेको छ । आफ्ना पति हुँदा हुँदै परपुरुषसँगको सम्बन्धमा रहेकी २७ वर्षीया छोरी ईश्वरी भट्टराईले प्रेमीसँगको सम्बन्धका कारण आमाको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । आइतबार बिहान चक्कु प्रहार गरी घाँटी रेटेर सावित्रीको हत्या गरिएको थियो ।

हत्याको अनुसन्धानका क्रममा प्रहरीले उनकी छोरी २७ वर्षीया ईश्वरीसहित चारजनालाई पक्राउ गरेको छ । ईश्वरीले सिराहा स्थायी घर भई भक्तपुर पुरानो ठिमी बस्दै आएका प्रेमी मोहम्मद नौसादसँगको सम्बन्ध आमाबाट बाहिर आउने थाहा पाएपछि आमाको हत्याको योजना बुनेको प्रहरीले बताएको हो ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले प्रेमी नौसादसँगको सम्बन्ध आमाले थाहा पाएपछि छोरीको घरबार बिग्रन नदिने र ज्वाइँलाई भनिदिने भनेपछि ईश्वरीले प्रेमीसँग मिलेर आमाको हत्या गरेको बताए ।

‘पटक–पटक छोरीलाई भेट्न नौसाद घर आउन थालेपछि आमाले उनीहरुको सम्बन्धबारे थाहा पाइन्, सो कारण छोरीको घर बिग्रन नदिन र ज्वाइँलाई जानकारी दिने भनेपछि प्रेमीसँग मिलेर हत्याको योजना बुनेको देखिन्छ,’ महाशाखाका प्रमुख थापाले भने । उनले हत्यामा भाडाका मान्छे प्रयोग गरिएको अनुसन्धानबाट खुलेको समेत जनाए । ‘आमाबाट सबै कुरा बाहिर आउँछ भन्ने डरले प्रेमीसँग मिलेरै भाडामा दुई जना व्यक्तिलाई हत्यामा प्रयोग गरेको देखिन्छ,’ थापाले भने ।

हत्यामा भारतीय कन्ट्याक्ट किलरको प्रयोग

प्रहरीका अनुसार भारतीय कन्ट्याक्ट किलर अर्जुन कुमार भनिने भोला कुमार र मोहमद रहिसले भट्टराईको हत्या गरेका हुन् । हत्याका लागि छोरी ईश्वरीले उनीहरुलाई १२ लाखको वचन दिएकी थिइन् । हत्यामा संलग्न दुवै भारतीय नागरिकलाई समेत प्रहरीले पक्राउ गरिसकेको छ । उनीहरुले चक्कु प्रहार गरेर सावित्राको हत्या गरेको स्वीकार गरेका छन् । प्रहरीले पक्राउ परेकामाथि ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान गरिने जनाएको छ ।

यसरी प्रेम बस्यो नौसादसँग

२७ वर्षीया ईश्वरी सोनाम थापा मगरसँग विवाह बन्धनमा रहेको ९ वर्ष भयो । उनीहरुको चार वर्षीय एक छोरा छन् । श्रीमान् सोनामले भने एयरपोर्टनजिकै होटल व्यवसाय सञ्चालन गर्दै आएका छन् । उनी नेपाली चलचित्र क्षेत्रमा समेत संलग्न छन् ।

तर, ईश्वरी भने भक्तपुरमा नै एक गार्मेन्ट कारखानामा काम गर्ने गरेकी थिइन् । गार्मेन्टमा काम गर्ने क्रममा नै उनले सिराहाका मोहमद नौसाद चिनजान भएको हो । त्यसपछि उनीहरु एक अर्कासँग निकट हुँदै गए । यतिसम्मकी काम नहुँदा वा घर बसेको अवस्थामा नौसाद ईश्वरीलाई भेट्न चाँगुनारायणमा रहेको घरमा नै पुग्थे । त्यसै बीचमा ईश्वरीले गार्मेन्टको जागिर छोडिन् । तर, नौसाद उनलाई भेट्न चाँगुनारायण आइरहन्थे । श्रीमान् होटलमा व्यस्त हुँदा नौसादलाई ईश्वरीको घरसम्म आउजाउ गर्न सहजसमेत भयो ।

सो क्रममा उनीहरु बीचको सम्बन्धबारे आमा सावित्राले जानकारी पाइन् । घरमा धेरै आउजाउ भएपछि आमाले सोही कारण श्रीमान्सँगको सम्बन्ध नबिगार्न छोरीलाई सुझाइन् । तर, छोरीले नौसादसँग निकट हुन भने छाडिनन् । यतिसम्म कि उनकी दिदी र नौसादको भाइको समेत चिनजान भइसकेको थियो भने ईश्वरीका छोराले समेत नौसादलाई राम्रैसँग चिन्ने भइसकेका थिए ।

छोरीकै घरमा बसेकी थिइन् सावित्रा

ईश्वरीकी आमा सावित्रा केही समयदेखि छोरीकै घरमा बस्दै आएकी थिइन् । सोही क्रममा उनले उनीहरुको सम्बन्धबारे थाहा पाइन् । आमा सावित्राले नातिलाई स्कुल लाने र ल्याउनेसमेत गर्ने गरेकी थिइन् । यतिसम्म कि छोरीको घरमा बसेकी सावित्रा ईश्वरीका लागि पछिल्लो समय सहारा नै बन्दै आएकी थिइन् ।

छोरीबाट छुटाउन नौसादलाई १ लाख र विदेश
छोरीसँगको सम्बन्धबाट टाढा बनाउन छोरीसँग निकट रहेका नौसादलाई आमा सावित्रीले विदेश पठाइदिने योजनासम्म बनाइन् । सोही क्रममा आमाले नौसादलाई विदेश जान भन्दै १ लाख रुपैयाँ पनि दिइन् । त्यसपछि नौसाद ९ जेठमा दुबई पुगे । तर, उनी त्यहाँ टिक्न सकेनन् र १० असारमा उनी नेपाल आए ।

विदेशबाटै हत्या योजना

९ जेठमा दुबई पुगेका नौसाद त्यहाँ टिक्न नसकेपछि पुनः ईश्वरी र उनीबीच फेसबुकमा कुराकानी हुन थाल्यो । त्यसपछि उनीहरु विवाह गर्ने योजनामा पुगे । तर, आमाका कारण बाधा हुने भएपछि उनीहरुबीच आमाको हत्या गर्ने योजना बन्यो ।

त्यसपछि १० असारमा नेपाल आएका नौसाद १२ असारमा भारत गए । उनले त्यहीबाट नै हत्याका लागि भाडामा मान्छे ल्याएका हुन् । उनी १४ गते दुई भारतीयसहित नेपाल आएका हुन् ।

यसरी खुल्यो हत्याको पोल

हत्या भइसकेपछि प्रहरी निकै बेर तनावमा पर्यो । हत्यामा संलग्नको खोजीमा भक्तपुर प्रहरीसहित अपराध महाशाखाको टोली खटियो । प्रहरीले छिमेकीसहित सबै पक्षसँग सोधपुछ अघि बढायो ।

सोही क्रममा ईश्वरीका चार वर्षीय छोरा दिप्सनले घरमा आउजाउ हुने गरेको नौसादबारे प्रहरीलाई सुनाए । त्यसपछि प्रहरी अनुसन्धान सोझै नौसादतर्फ मोडियो । प्रहरीले नौसादबारे विवरण खोज्न थाल्यो । सोही क्रममा डेढ महिनाअघि मात्रै विदेश गएको मान्छेबाट हत्या कसरी भयो होला भन्नेमा अन्योल थियो । नौसादले भाइलाई नेपाली नम्बरबाट फोन गरेको डिटेल प्रहरीले पायो । त्यसपछि प्रहरी घटनाको नजिक पुग्यो ।

दाइसँग भएको फोनबारे भाइले ईश्वरीकी दिदीलाई समेत सुनाएको प्रहरीले फेला पा¥यो । नौसादका भाइ र उनको समेत चिनजान भएको प्रहरीले पत्ता लगायो । त्यहाँबाट प्रहरी झन् अनुसन्धानको नजिक पुग्यो ।

त्यसपछि मोबाइल फोनको लोकेसनका आधारमा नौसाद आइतबार राति धादिङको गजुरीबाट पक्राउ परे । उनकै बयानका आधारमा ईश्वरी भट्टराई, भारतको पूर्वी दिल्लीस्थित दुभौली पञ्चायतको नयाँ अशोकनगरका २४ वर्षीय अर्जुन कुमार भनिने भोला कुमार र भारतकै मधुवनी जिल्ला रजौरी थानाका २४ वर्षीय मोहम्मद रहिसलाई समेत प्रहरीले पक्राउ गरेको हो । दुई भारतीयलाई भने भारत फर्किंदै गर्दा मकवानपुरबाट प्रहरीले पक्राउ गरेको हो । – राजधानी दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार