काठमाडौं, १९ असार—नरेन्द्र मोदी भारतमा दोस्रो कार्यकालका लागि दोहोरिएपछि छिमेकीहरूसँगको सम्बन्ध र सुरक्षा नीतिलाई लिएर गम्भीर छन् भन्ने उनका पछिल्लो कदमहरूले देखाएको छ । मोदीले दोस्रो पटक प्रधानमन्त्री पदको शपथ लिँदै गर्दा परराष्ट्र मन्त्रीको जिम्मेवारी एस जयशंकरलाई दिए । नेपालमा नाकाबन्दी लाग्नुभन्दा केही समय अगाडि काठमाडौं आएर अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए ।
२०७२ सालमा भारतले लगाएको नाकाबन्दी अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै एस जयशंकर भक्तपुरको बालकोटस्थित निवासमा पुगेर ओलीलाई भेटेर संविधान जारी गर्न केही ढिलाइ गर्न दवाव दिएका थिए ।
त्यतिखेर प्रधानमन्त्री बन्ने लाइनमा कुरेर बसेका ओलीले एस जयशंकरको कुरा सुनेनन् । बरु उनलाई हकारेर पठाए । जसको फलस्वरुप नेपालमा नाकाबन्दी लाग्यो । अहिले उनै व्यक्ति परराष्ट्रमन्त्री छन् । एस जयशंकरलाई नेपालमा नाकाबन्दी लगाउने प्रमुख योजनाकारका रुपमा हेरिन्छ ।
यति मात्रै होइन मोदीले भारतको गुप्तचर संस्था रिसर्च एण्ड एनलाइसिस विंग्स (रअ)को दिल्ली प्रमुखमा पनि नयाँ व्यक्तिलाई नियुक्ति गरेका छन् । ‘रअ’का प्रमुख अनिल धमासानले अनिवार्य अवकास पाएपछि उनको ठाउँमा सामन्त गोयल आएका छन् । सामन्त गोयल उनै व्यक्ति हुन्, जसले पाकिस्तानको बेलकोटमा स्ट्राइक गराउन ठूलो भूमिका र योजना बनाएका थिए ।
सामन्त गोयल र मोदीका प्रमुख सुरक्षा सल्लाहकार अजित दोभालबीच परामर्श भएर बेलकोटमा स्ट्राइक भएको थियो । ‘रअ’का अहिलेका नयाँ प्रमुख मोदीका विश्वासपात्र मानिन्छन् । दक्षिण एसियामा ‘रअ’ले आफ्नो योजनालाई केही सुधार गरेर लैजाने तयारीका साथ सामन्त गोयललाई प्रमुख बनाइएको हो ।
विशेष गरेर पाकिस्तान, चीन, नेपाल र बंगलादेशलाई ‘रअ’ले विशेष महत्व दिँदै आएको छ । श्रीलंका, अफगानिस्तान र भुटानमा पनि ‘रअ’ले आफ्नो प्रभाव राख्दै आएको छ । नेपालमा अहिले ‘रअ’को प्रमुखमा अभिजित हल्दर छन् । हल्दरले लैनचौरस्थित भारतीय राजदूतावासभित्रैबाट कार्यालय सञ्चालन गर्दै आएका छन् । भारतलाई आवश्यक पर्ने सूचनाहरू उनले आफ्ना सम्पर्क सूत्र र कर्मचारीहरूमार्फत लिने गरेका छन् ।
नेपालमा ‘रअ’ले आफ्ना गतिविधिलाई पहिला जस्तो देखिने गरेर गर्दैन । साइलेन्ट रुपमा गतिविधि गर्दै आएको उच्च स्रोतको भनाइ छ ।
विशेष गरेर ‘रअ’ले नेपालको आन्तरिक राजनीति, चीनसँगको सम्बन्ध, पाकिस्तानका गतिविधि, भारतीय नक्कली नोट, नेपाल–भारत बोर्डरमा हुने आपराधिक गतिविधि आदि विषयलाई सुक्ष्म रुपमा नियाल्दै आइरहेको छ । नेपालको राजनीतिलाई ‘रअ’ले विशेष महत्व दिने गरेको छ । —यूनाइटेड पोस्ट साप्ताहिक