लिविया आक्रमणमा परी एक नेपालीको मृत्यु

काठमाडौं – लिवियाको आप्रवासी हिरासत केन्द्रमा भएको आक्रमणमा परी एक नेपालीको मृत्यु भएको पुष्टि भएको छ । आक्रमणमा परी २७ वर्षीय सन्तोष श्रेष्ठको मृत्यु भएको त्रिपोलीस्थित अन्तर्राष्ट्रिय आप्रवास संगठन (आईओएम) लाई उद्धृत गर्दै कायरोस्थित नेपाली दूतावासले जनाएको छ ।

आईओएमले जनाएअनुसार आक्रमणमा घाइते उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको स्थायी ठेगाना कहाँ र उनी कसरी लिबिया आइपुगे भन्ने खुलेको छैन । कायरोस्थित नेपाली दूतावासका अनुसार, यसबारे अनुसन्धान भइरहेको छ ।

लिबियाको राजधानी त्रिपोलीको पूर्वी क्षेत्रमा रहेको आप्रवासी हिरासत केन्द्रमा मंगलबार हवाई आक्रमण भएको थियो ।आक्रमणमा ४० जनाको मृत्यु भएको थियो भने ८० भन्दा बढी घाइते भएका थिए ।

आप्रवासी हिरासत केन्द्रमै अन्य १४ नेपाली पनि थिए । तर, उनीहरु भने सकुशल रहेको दूतावासले जनाएको छ । दूतावासका अनुसार ८ जनालाई टर्की हुँदै नेपाल फर्काइसकिएको छ भने बाँकी ६ जनालाई फर्काउने प्रयास भइरहेको छ । ६ जना अझै त्रिपोलीस्थित आईओएमको क्याम्पमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार