बेहोसमा आफ्नै आमालाई खुकुरी प्रहार गरि हत्या

काठमाडौं, २० असार  — मादक पदार्थ सेवन गरिरहने एक युवकले बिहीबार अपरान्ह खुकुरी प्रहार गरी आमाको हत्या गरेका छन्। घरमा कोही नभएका बेला सप्तरीको सुरुङ्गा नगरपालिका १ चहकाका ३४ वर्षीय रिठ्ठे भनिने जंगबहादुर पुलामीले खुकुरी प्रहार गरी ६४ वर्षीय आमा धनमाया पुलामीको हत्या गरेका हुन्।

सुरुङ्गा नगरपालिका १ का निमित्त वडा अध्यक्ष इन्द्र आले मगरका अनुसार आमाको शवसँगै जंगबहादुर रक्ताम्य अवस्थामा भेटिएका थिए।  उनले खुकुरी नचाउँदै बुवा र छिमेकीलाई मार्ने धम्की दिएपछि प्रहरीलाई खबर गरेको आलेको भनाइ छ।

बिहीबार दिउँसो धनमायाले मोबाइलमा रिचार्ज सकिएको भनेपछि उनका श्रीमान ६५ वर्षीय लोकबहादुर पुलामी बजार गएका  थिए। उसै बेला छोराले आमाको हत्या गरेको लोकबहादुरले बताए।

खुकुरी प्रहारले गर्धनसहित टाउको पछाडि तीन ठाउँमा र अनुहारमा दुई ठाउँमा गहिरो चोट लागेको अवस्थामा धनमायाको शव फेला परेको इलाका प्रहरी कार्यालय भेडियाका इन्स्पेक्टर प्रकाश बस्नेतले जानकारी दिए।

‘दुबै हातमा खुकुरी लिएर आँगनमा नाचिरहेको अवस्थामा सम्झाई(बुझाई गरेर आरोपितलाई नियन्त्रणमा लिएका छौँ’, इन्स्पेक्टर बस्नेतले भने। उनलाई इलाका प्रहरी कार्यालय कडरबोनामा राखिएको छ।

शवलाई पोष्टमार्टमका लागि भर्खरै रामप्रसाद शारदा उमाप्रसाद मुरारका अस्पताल लहान पुर्‍याइएको छ। जंगबहादुर मनोरोगी भएको भन्दै जंगबहादुरलाई छाडेकी उनकी श्रीमती एक छोरा र एक छोरीका साथ उदयपुरको रौतास्थित माइत विस्थापित छन्। — अन्नपूर्णबाट दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार