काठमाडौं, २१ असार – सरकारले भारतीय पक्षको दबाबमा परेर भारत लगायत तेस्रो मुलुकबाट आयात हुने तरकारीजन्य खाद्यपदार्थको विषादी परीक्षण रोक्ने निर्णयप्रति विवेकशील नेपाली दलको गम्भीर ध्यानाकर्षण भएको छ।
अहिले तपाईँ(हाम्रो बालबच्चा र करोडौँ नागरिकका स्वास्थ्यमै प्रत्यक्ष प्रतिकुल असर पर्ने गरी विषादी प्रयोग गरिएका तरकारी तथा फलफुलहरू आयात भइरहेको छ। विषादी परीक्षण गरेर मात्रै भन्सारबाट प्रवेश दिने नागरिक केन्द्रित सरकारी नीति अनुरूप सरकार आफैँले राजपत्रमै प्रकाशित गरी सुरु गरेको विषादी परीक्षणको काम रोक्न वाणिज्य तथा आपूर्ति मन्त्रालयकै प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले फिर्ता लिने निर्णय गरेको थियो।
यो कदमले केपी ओली सरकारले सत्तारोहण गर्नुअघि बनाएको राष्ट्र रक्षकको छविमै फेरी पेचिलो प्रश्न तेर्सिएको छ। सरकार नागरिकमुखी हुनुको सट्टा उल्टो करोडौँ नागरिकको स्वास्थ्यसँग सम्झौता गर्दै गर्दा हामी कस्तो समाजवाद उन्मुख हुँदै छौँ ?
भारतीय पक्षले दिएको दबाबलाई भन्सार क्षेत्रमा उपयुक्त विषादी परीक्षणका उपकरण र प्रविधि उपलब्ध नभएको भन्ने बहानामा नअल्झिई यथाशीघ्र प्राविधिक काम पुरा गरी पुनः नाकामा विषादी परीक्षण सुरु गर्न विवेकशील नेपाली सरकारसँग आग्रह गर्दछ। प्रक्रियागत निर्णय भई कार्यान्वयन भइरहेको स्थितिमा विषादी परीक्षण नै रोक्ने प्रस्ताव प्रधानमन्त्रीबाटै आउनु निकै गैरजिम्मेवार र नागरिकको स्वास्थ्यमाथि अनुदार कदम भएको विवेकशील नेपाली दलको ठहर छ। स्वास्थ्य नागरिक बने पो त देश समृद्ध हुन्छ। सरकार तिमी कहिलेसम्म यो हदसम्म विवेकहिनताको बन्दी बनिरहछौँ ?
नागरिकले विषादी रहित, स्वस्थ तरकारी तथा फलफुल उपभोग गर्न पाउने अधिकार कुण्ठित हुने गरी गरिएको निर्णय फिर्ता लिन र परीक्षणको प्राविधिक पक्षलाई तत्कालै सबल बनाई विषादी परीक्षण सुचारु गर्न विवेकशील नेपाली दल सरकारसँग जोडदार माग गर्दछ ।
साथै, यो पढिरहनु भएका सम्पूर्ण आम नागरिकलाई विषादी प्रयोग भएका तरकारी फलफुल प्रयोग नगर्न आव्हान गर्दछौँ र आ-आफ्नो जनप्रतिनिधि माझ गई आवाज उठाउनु हुन पनि अपिल गर्दैछौँ जारी विज्ञप्तिमा भनिएको छ ।