वित्तीय क्षेत्रमा मेगा मर्जरको बाध्यता र आवश्यकता

  डा‍ सुराेज टण्डन

काठमाडौं — अर्थतन्त्रको आकार, जनसंख्या, भौगोलिक अवस्था, वित्तीय साक्षरताको स्तर, जनचेतना, शिक्षा र आवश्यकताका आधारमा बैंक तथा वित्तीय संस्थाको संख्या निर्धारण हुन्छ । ठूलो संस्था निर्माण गर्न, क्षमता बढाउन, रणनीतिक लाभ लिन, बजार अंश विस्तार गर्न, व्यवसाय अभिवृद्धि गर्न, नाफा बढाउन र खर्च घटाउन (मेगा) मर्जरको नीति अंगीकार गरिन्छ । धेरैजसो बैंक तथा वित्तीय संस्था आपूmलाई सक्षम तथा अब्बल बनाउन मर्जर बाध्यतासँगै आवश्यकता बन्दै गएको छ ।

बाध्यतामा आवश्यकता
नेपालमा अहिले वाणिज्य बैंक २८ (३३६७ शाखा), विकास बैंक ३२ (१२२९ शाखा), वित्त कम्पनी २४ (२०४ शाखा), माइक्रो फाइनान्स ९१ (३५१९ शाखा) गरी जम्मा १७५ ओटा बैंक तथा वित्तीय संस्थाका कुल ८३१९ शाखाबाट झन्डै रू.३१ खर्ब ६० अर्ब निक्षेप संकलन र रू.२८ खर्ब ५६ अर्ब कर्जा प्रवाह गरेको नेपाल राष्ट्र बैंकको २०७६, वैशाख मसान्तको तथ्यांकले देखाएको छ । बजारमा सधै तरलताको उतारचढाव देखिँदै ब्याजदरमा निरन्तर अस्वाभाविक प्रतिस्पर्धा हुने गरेको छ । यसले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको छ ।

यसरी वित्तीय क्षेत्रमा देखापरेको तीव्र प्रतिस्पर्धाले केन्द्रीय बैंकको सुपरिवेक्षण, अनुगमन तथा नियमन प्रभावकारी नहुनु, संस्थागत सुशासन कायम हुन नसक्नु, अन्तरराष्ट्रिय बैंकिङ अभ्यास कार्यान्वयनमा जटिलता देखिनु, विदेशी बैंकसँग प्रतिस्पर्धात्मक क्षमता नदेखिनु र जोखिम व्यवस्थापन लक्ष्य अनुरूप हुन नसक्दा नेपालमा मेगा मर्जर बाध्यता र आवश्यकता बन्दै गएको छ ।

नेपाल राष्ट्र बैंकले आधार दर, अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात, बैंक दर, सीसीडी रेसियो, क्षेत्रगत तथा सीमान्तकृत लगानी जस्ता नियमनकारी औजारको व्यवस्था गरी सबै बैंक तथा वित्तीय संस्थालाई सुपरिवेक्षण र नियमनका साथै प्रर्वद्धन गर्ने जमर्काे गरेको छ जुन सह्रानीय छ ।

केन्द्रीय बैंकले वित्तीय क्षेत्रको सुदृढीकरणको लागि गाभ्ने/गाभिने तथा प्राप्ति र खारेजी सम्बन्धी प्रक्रियाका साथै चुक्ता पूँजी वृद्धिको नीति लिए पश्चात् १६२ ओटा बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति र खारेजीको प्रक्रियामा सामेल भइसकेका छन् । तर पनि वाणिज्य बैंकको संख्यामा अपेक्षाकृत कम हुन नसकेकोले मेगा मर्जरको आवश्यकता महसूस गरेको सहजै अनुमान गर्न सकिन्छ ।

व्यवसायलाई वृद्धि गर्ने, पूँजीको पर्याप्तता बढाउने, पूँजी निर्माण गर्ने, कार्यसञ्जाल बढाउने, बजार अंश वृद्धि गर्ने, प्रतिस्पर्धा बढाउने भएकाले मेगा मर्जर आवश्यक बनेको छ ।

मेगा मर्जरको प्रभाव
राष्ट्र बैंकले मेगा मर्जरमा गाभिन चाहने बैंक तथा वित्तीय संस्थालाई केही सुविधासँगै दबाब दिने नीति अघि सारेको छ । पछिल्ला दिनमा मेगा मर्जरमा जाने वित्तीय संस्थाको संख्या बढ्ने स्पष्ट छ । बजारको अवस्था अध्ययन गर्दा विदेशी लगानी र सरकारी स्वामित्वमा रहेका बाहेक बाँकी सबैजसो बैंक तथा वित्तीय संस्थाहरूले कुनै न कुनै रूपमा मेगा मर्जरलाई आत्मसात् गर्ने देखिन्छ ।

अमेरिकामा एउटा प्रसिद्ध भनाइ छ ‘टु विग टु फेल’ अर्थात् ठूलो बैंकले ठूलो जोखिम ल्याउन सक्छन् । त्यसैले मर्जर तथा गाभिने कार्य यस्तो बनोस् जहाँ शहरमा सीमित रहेको साधन, स्रोत, पूँजी, प्रविधि, लगानी, वित्तीय शिक्षा, पहुँच र सेवा गाँउमा पुगोस् ।

कति वित्तीय संस्था आवश्यक ?
नेपालले उदार आर्थिक नीतिलाई अंगीकार गरी डब्ल्यूटीओ, साफ्टा, बिप्पा जस्ता संस्थाहरूको सदस्य पनि भइसकेकाले बैंक तथा वित्तीय संस्थाको संख्या तोक्न सजिलो छैन । देशमा कति बैंक तथा वित्तीय संस्थाको आवश्यकता छ र कसरी बैंकिङ सेवालाई ग्रामीण तहसम्म पुर्‍याउन सकिन्छ भन्ने सन्दर्भमा नेपाल राष्ट्र बैंकले अहिले पनि कुनै प्रकारको मोडल बनाएको देखिँदैन । उदारीकरण, प्रतिस्पर्धा, प्रविधि र शिक्षाले वित्तीय संस्थाको संख्या तोक्न गाह्रो भए पनि अहिले रहेको संख्या बढी नै हो ।

बैंक तथा वित्तीय संस्थाले बासेल तिनमा भएका व्यवस्थाहरू सन् २०१४ देखि कार्यान्वयन गर्दै सन् २०१९ को अन्त्यसम्म बासेल ३ पूर्णरूपले लागू गर्नुपर्ने बाध्यता छ । बासेल तिनले कुल कर्जा लगानीको निश्चित प्रतिशत शेयर पूँजी, अन्तरराष्ट्रिय प्रतिस्पर्धा, जोखिम व्यवस्थापन क्षमता, संस्थागत सुशासन, सुपरिवेक्षण र ब्याजदर तथा तरलतामा देखिएको दबाब व्यवस्थापनका लागि पनि बैंक, वित्तीय संस्थालाई मेगा मर्जरतर्फ दबाब सृजना गरेको छ ।

जनतामा वित्तीय पहुँच र शिक्षा बढाउन पनि संख्या न्यून हुनुपर्छ तर पहुँच र गुणस्तर बढी हुनुपर्छ । तरलताको व्यवस्थापन गर्न, नियमनलाई प्रभावकारी बनाउन, जनतामा विश्वास बढाउन, सक्षम वित्तीय संस्था बनाउन र सेवासुविधामा एकरूपता ल्याउन मेगा मर्जरलाई प्राथमिकता दिँदै विद्यमान संख्यालाई करीब ६० प्रतिशतसम्म घटाउन आवश्यक देखिन्छ ।

अन्तरराष्ट्रिय अभ्यास
मर्जर सन् १८९० मा अमेरिकी सरकारबाट ऐन पास गरी सन् १८९९, १९०१, १९०२ मा पाइप, स्टील र तेल कम्पनीबाट थालनी भएको थियो । प्रारम्भमा वस्तु वा सेवाको मूल्य र नाफा बढाउन मर्जर गरिए पनि अहिले सिनर्जी लाभ, व्यवसाय विस्तार, कार्यसञ्जाल विस्तार, गुणस्तर लगायत रणनीतिक उपलब्धिका लागि मर्जरलाई अंगीकार गरेको देखिन्छ । झन्डै ६ दशकअघि मलेशियामा आर्थिक समस्या आउँदा त्यहाँको केन्द्रीय बैंकले ५४ मध्ये १० बैंकलाई दबाबमूलक ढंगले एकापसमा गाभेको थियो । यस्तो अभ्यास विश्वका धेरैजसो मुलुकमा भएको देखिन्छ ।

कतिपय वित्तीय संस्थाहरू बाध्यतावश र कोही स्वतःस्फूर्त रूपमा एकआपसमा गाभिने प्रक्रियामा छन् । लचिलो मौद्रिक नीति जारी गरी मेगा मर्जर चाहनेले सहज ढंगमा शाखा विस्तार गर्न, कर छूट पाउन, सीआरआर, सीसीडी तथा कर्जा लगायत क्षेत्रमा सहुलियतको व्यवस्था मिलाउन आवश्यक छ । मेगा मर्जरलाई वित्तीय क्षेत्रमा भएका कमजोरीको समाधान गर्ने (बैंकिङ) औजारका रूपमा उपयोग गर्नुपर्छ ।

मेगा मर्जरको मोडललाई कर्मचारी, लगानीकर्ता र व्यवस्थापकले अवसरका रूपमा उपयोग गर्ने वातावरण बनाई बैंकिङ प्रणालीमा कोसेढुंगा हुने गरी व्यवस्था मिलाउन जरुरी छ । मेगा मर्जर संस्थागत रणनीति भएकाले यसको नीति मार्पmत वित्तीय संस्थालाई अतिरिक्त शक्ति सृजना गराउने, सिनर्जी लाभ दिने, महत्त्व बढाउने, आगत वृद्धि गर्ने, सेवा विस्तार गर्ने र लागत घटाउँदै जाने व्यवस्था मिलाउनुपर्छ ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार