काठमाडौं, २८ असार – वर्षाका कारण राजधानी काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न भाग डुबानमा परेका छन्। मुलुकका विभिन्न भागमा बिहीबार रातिदेखि भइरहेको छ। वर्षासँगै भएको डुबान र बाढीपहिरोमा परी २१ जनाको मृत्यु भएको छ भने नौजना बेपत्ता भएका छन्।
काठमाडौंमा तीन, खोटाङमा तीन, काभ्रे, भोजपुर, ओखलढुंगा र झापामा दुईदुई, रामेछाप, मकवानपुर, इलाम, पर्सा, ललितपुर, धादिङ र सिन्धुलीमा एक/एक गरेर २१ जनाको मृत्यु भएको हो। रौतहटमा दुई, मकवानपुर, सुनसरी, पाँचथर, महोत्तरी, मोरङ र काठमाडौंमा एकएकजना गरी आठजना बेपत्ता भएका छन्। अविरल वर्षाले जनजीवन प्रभावित भएको छ। विभिन्न जिल्लामा गरी ६ हजार भन्दा बढी विस्थापित भएका छन्। खासगरी प्रदेश १, २ र ३ मा मानवीय र भौतिक क्षति बढी भएको छ। कतिपय ठाउँमा राजमार्ग अवरुद्ध हुँदा यातायात सेवा प्रभावित भएको छ।
काठमाडौं र ललितपुरमा चारजनाको मृत्यु भएको छ। महानगरीय प्रहरी कार्यालयका प्रवक्ता श्याम ज्ञवालीका अनुसार उपत्यकामा शुक्रबार राति ७ बजेसम्म काठमाडौं मूलपानीमा घर भत्किँदा एकैपरिवारमा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बारा घर भई मुलपानीमा बस्दै आएका ३५ वर्षीय शर्मिला यादव, गर्भवती २० वर्षीय नितुक यादव र १३ वर्षीय कुन्दन यादव छन्। बागमती खोलाले बगाएर ११ वर्षीय सुरज जिम्बाको मृत्यु भएको छ। बर्दिया घर भई काठमाडौं कुलेश्वरमा बस्दै आएका २५ वर्षीय विनोद चौधरी बल्खु खोलाले बगाएर बेपत्ता भएका छन्। उनको खोजीकार्य भैरहेको छ।