इंगल्याण्डलाई पहिलो पटक विश्वकप क्रिकेटको उपाधि

काठमाडौं – इंगल्याण्डमा सम्पन्न एक दिवसीय विश्वकप क्रिकेटको उपाधि इंगल्याण्डले जितेको छ । नियमित ५० ओभरमा बराबरी भएपछिको सुपर ओभरमा पनि बराबरी भएपछि सबैभन्दा बढी चौका हानेको आधारमा इंगल्याण्डले उपाधि जितेको हो । इंगल्याण्डले पहिलो पटक उपाधि जितेको हो ।

इंगल्याण्डले आइतबार राति लर्डसमा भएको खेलमा सुपर ओभरमा २ समेत गरी २६ वटा चौका हानेको थियो भने न्यूजिल्याण्डले सुपर ओभरमा १ गरी १७ वटा चौका हानेको थियो ।

सुपर ओभर इंगल्याण्ड ब्याटिङ
बेन स्टोक्स र जोस बट्लरले ब्याटिङ गरेकामा ट्रेन्ट बोल्टले बलिङ गरे । पहिलो बलमा स्टोक्सले ३ रन लिए । दोस्रो बलमा बट्लरले १ रनमात्र लिए । तेस्रो बलमा स्टोक्सले चौका हाने । पाँचौं बलमा स्टोक्सले १ रनमात्र बनाए । पाँचौं बलमा बट्लरले २ रन लिए । अन्तिम बलमा बट्लरले ४ रन बनाए । इंगल्याण्डले १५ रन बनायो ।

सुपर ओभर न्यूजिल्याण्ड ब्याटिङ
मार्टिन गुप्टिल र जिम्मी निसम ब्याटिङका लागि आए भने जोफ्रा आर्चरले बलिङ गरे ।  १६ रनको लक्ष्य लिएर उत्रिएको न्यूजिल्याण्डले पहिलो रन उपहार पायो । आर्चरले वाइड फाले ।

पहिलो बलमा निसमले २ रन लिए । दोस्रो बलमा निसमले छक्का हाने । तेस्रो बलमा निसमले २ रन लिए । चौथो बलमा सिनमले दुई रन लिए । पाँचौं बलमा निसमले १ रन लिए । अन्तिम बलमा दुई रन जितका लागि जरुरी भएकामा गुप्टिलले १ रन बनाएर आउट भए ।

यसअघिको नियमित इनिङ

इंगल्याण्डको इनिङ
२४२ रनको लक्ष्य लिएर उत्रिएको इंगल्याण्डले सबै विकेट गुमाएर ५० ओभरमा २४१ रन नै बनायो । अन्तिम ओभरमा १५ रनको जरुरी थियो । १४ रन बनाए टाइ हुने थियो । अन्ततः टाइ नै भयो । २ विकेट ढल्यो ।

दुई डट बल, त्यसपछि छक्का अनि दुई रन लिँदा ओभर थ्रो भएपछि अतिरिक्त ४ रन हुँदा त्यो बलमा ६ रन भयो । त्यसपछि दुई बलमा तीन रनको जरुरी हुँदा एक रन लिँदै रनआउट हुँदा सबै विकेट पनि गुम्यो अनि १४ रन पनि बन्यो ।

बेन स्टोक्स ९८ बलमा नटआउट रहँदै ८४ रन बनाउन सफल भए । जेम्स निसम र लक्की फर्गुसनले ३–३ विकेट लिए ।

न्यूजिल्याण्डको इनिङ
न्यूजिल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्यो । न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेटको नोक्सानीमा २४१ रन बनायो । हेन्री निकोल्सले ७७ बलमा ५५ रन बनाए । टोम लाथमले ५६ बलमा ४७ रन बनाए । क्रिस वोक्स र लियाम प्लंकेटले ३–३ विकेट लिए  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार