आज गुरू पुर्णिमा तथा आषाढ शुक्ल पूर्णिमा, गुरुलाई सम्मान गरौँ

काठमाडाैं,  ३१ असार — आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ ।  ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ ।

गुरुपूर्णिमाका अवसरमा आज विद्यालय एवम् विभिन्न सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षादीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्दैछन् । आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्ने वेदव्यासको सम्झनामा व्यासजयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेदव्यास जन्मिएकाले यसै दिन व्यासजयन्ती मनाउने गरिएको हो । गौतम बुद्धले आजकै दिन धर्मचक्र प्रवत्र्तन अर्थात् पहिलो उपदेश दिएका थिए ।

व्यासले पुराण र उपपुराणका माध्यमबाट ‘परोपकार पुण्याय, पापाय परपीडनम्’ अर्थात् अरुको उपकार गरे धर्म हुन्छ एवम् अरुलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिनुभएको छ । यस वर्ष गुरुपूर्णिमाका दिन चन्द्रग्रहण परे पनि गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने पर्व बिहान पर्ने भएकाले कुनै असर नगर्ने समिति अध्यक्ष गौतमले बताउनुभयो । पूर्णिमा व्रत पनि यस वर्ष मङ्गलबार नै परेको छ ।

संसार जत्तिकै आधूनिक र ज्ञानहरु जत्तिकै सहज र ब्यवसायीक रुपमा उपलब्ध भए पनि संसारमा गुरुतत्वको दियो अझै बलिरहेको छ, बलिरहने छ । गुरुतत्वको त्यहि महत्वलाई आत्मसाथ गरेर हुनसक्छ सनातन संस्कारमा बर्ष पछिको बर्ष र यूग पछिका यूगहरुमा पनि गुरुहरुलाई अझ आदर र श्रद्धाका साथ हेर्ने गरिन्छ ।

आउँदा पुस्ताहरुलाई पनि गुरु, ज्ञान र गुरुतत्वको महत्व गुरु पूर्णिमामा दर्शाइने कार्य जारी रहनेछ । अज्ञानता र अचेतनाको अँध्यारोबाट ज्ञान र चेतनाको उज्यालोमा ल्याउने, सही मार्ग प्रदर्शन गर्ने समस्त गुरुहरुलाई अाजको दिन कोटी कोटी नमन गरिने गरिन्छ । गुरु मार्फत् प्राप्त गरेको ज्ञान र विवेकले आफ्नो जीवनमा पारेको प्रभावप्रति आभार ब्यक्त गर्दै ज्ञानको पथमा सधैं अगाडी बढ्दै जाने प्रतिज्ञा र गुरुप्रति आभार व्यक्त गर्ने दिन पनि हो गुरुपूर्णिमा ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार