कारबाहीबाट बच्न नेकपा नेता झालाई लिएर अध्यक्ष दाहाललाको निवास खुमलटार

काठमाडौं, ५ साउन – मठमन्दिरको अर्बौं रुपैयाँ पर्ने जमिन बिक्री गरेको आरोप लागेका महोत्तरीको लक्ष्मीनारायण मठमटिहानीका मानमहन्त जगन्नाथ दास वैष्णव कारबाही प्रक्रियाबाट जोगिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालको शरणमा पुगेका छन्।

राजनीतिक नेतृत्वको सहारामा कारबाहीबाट बच्न उनले लबिङ थालेका हुन्। महन्त जगन्नाथले रुपन्देही र धनुषा जिल्लामा लक्ष्मीनारायण, रामजानकीलगायत मन्दिरको सबा तीन अर्ब रुपैयाँ पर्ने करिब सात बिघा जमिन विभिन्न समयमा बिक्री गरेर हिनामिना गरेको आरोप छ। मठमन्दिरको जग्गा बेचेर सरकारी सम्पत्तिको दुरुपयोग गरेको आरोप लागेपछि उनलाई गुठी संस्थानले निलम्बन गरेको छ। निलम्बनको पत्र बुझ्न आनकानी गरेका उनी मन्त्री तथा राजनीतिक नेतृत्वको सहारामा कारबाहीबाट उम्किने प्रयासमा छन्। उनले स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादव, नेकपा नेता रामचन्द्र झासमेतको साहारा लिएर भूमिमन्त्री अर्याल र नेकपाका अध्यक्ष दाहालमार्फत गुठी संस्थानमा दबाब दिने प्रयास गरेको स्रोतको दाबी छ।

मठको जग्गा बेचेको आरोप लागेका मानमहन्त जगन्नाथ दास वैष्णवले कारबाहीबाट जोगिन स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादव, नेकपा नेता रामचन्द्र झासमेतको सहारा लिएर भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल र नेकपाका अध्यक्ष पुष्पकमल दाहालमार्फत लबिङ गरेका छन्।

राज्यमन्त्री यादव र महन्त जगन्नाथले भूमिमन्त्री अर्याललाई भेटी कारबाही नगर्न अनुरोध गरेका थिए। यादव महन्त जगन्नाथलाई लिएर मन्त्री अर्याललाई भेट्न पुगेका थिए। ‘स्वास्थ्य राज्यमन्त्रीले महन्तलाई लिएर आउनुभएको थियो,’ मन्त्रालय स्रोतले भन्यो, ‘मन्त्रीज्यू पोजेटिभ नभएपछि महन्त निन्याउरो मुख लिएर फर्किए।’
महन्त जगन्नाथले राज्यमन्त्री यादवले जनकपुरमा सञ्चालन गरेको जानकी केयर हेल्थ एन्ड सेन्टरलाई जग्गा उपलब्ध गराएका छन्।

राज्यमन्त्री यादव र महन्त जगन्नाथको राम्रो उठबस रहेको जनकपुरका स्थानीय बताउँछन्। जग्गा खरिदबिक्री प्रकरण सार्वजनिक भएपछि महन्त जगन्नाथले आफूसँग भेटेको यादवले स्वीकारे। ‘महन्तसँग मेरो राम्रो चिनजान छ,’ यादवले शनिबार नागरिकसँग भने, ‘मलाई समस्या प¥यो भनेर आउनुभएको थियो।’ उनले महन्तको व्यक्तिगत नाममा भएको जमिन कलेजका लागि लिजमा लिएको बताए। ‘मठमन्दिरकै जग्गा बिक्री गरेको भेटिए महन्त कारबाहीको भागीदार हुनुपर्ने मन्त्रीको धारणा थियो। ‘चिनजान भएकाले भेट्न आउनु स्वाभाविक हो,’ उनले भने, ‘गल्ती गरेको भए कारबाहीको भागीदार हुनुपर्छ।’ महन्तलाई मन्त्री अर्यालसँग भेट गराएको विषयमा भने उनले स्पष्ट जवाफ दिएनन्।

भूमिमन्त्री अर्याललाई भेटेपछि महन्त पूर्वमन्त्री तथा नेकपा नेता झालाई लिएर अध्यक्ष दाहाललाई भेटन् उनको निवास ललितपुरको खुमलटार पुगेका थिए। महन्तले नेकपाका नेतामात्र नभएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि गुनासो पोखेका छन्। बाढीप्रभावित क्षेत्रको निरीक्षण गर्न जाँदा शुक्रबार लक्ष्मीनारायण मठमटिहानीमा दर्शन गर्न पुगेका देउवालाई महन्तले सहयोग गर्न आग्रह गरेका थिए। ‘गुठी संस्थानले दुःख दिएको गुनासो शेरबहादुर देउवासमक्ष राख्नुभयो,’ स्रोतले भन्यो। महन्तको गुनासो सुने पनि देउवाले केही जबाफ नदिएको स्थानीयले बताए। – नागरिक दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार