काठमाडौं, ९ साउन – गुल्मिको सत्यवती गाउँपालिकामा गत सोमबार राति गएको पहिरोमा पुरिएर ज्यान गुमाउनको संख्या १३ पुगेको छ । आज बिहानसम्म १३ जनाको नै शव निकालिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दिपककुमार बस्नेतले बताए । बेपत्ता भएकी तारा बिकको सब आज बिहान भेटिएको हो ।
पहिरोमा पुरिएर घाइते भएका सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेककी १३ वर्षीया धनी तरामु र १० वर्षीया करिश्मा तरामुको उपचारको लागि बुधबार बेलुका नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगेएको छ । उनीहरुको त्रिवि शिक्षण अस्पताल काठमाण्डौमा उपचार भैरहेको छ ।
वडा नम्वर ३ लिम्घामा सोमवार पहिरोले घर बगाउँदा मंगलबार सम्म एकै परिबारका निर्मला विक, पम्फा विक, अञ्जली विक, हिमान्सु विक, छलि विक र सिवानी विक तथा ठुलोलुम्पेकमा तिल कुमारी र छोरा दर्शन तरामु मगर तथा दुर्गा बहादुर सिंजालीको शव फेला परेको थियो ।
त्यस्तै सत्यवती गाउँपालिका–३, ठूलोलुम्पेक र वडा नम्बर–४, लिम्घामा पहिरो गएको थियो । ठूलोलुम्पेकको सिंगदी गाउँ नै पहिरोको उच्च जोखिममा रहेको छ । पहिरोले ठूलो मानवीय तथा भौतिक क्षति र्पुयाएपछि दुई स्थानका करिब ६०० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
लुम्पेककै अरु बस्ती पनि पहिरोको खतरामा रहेकाले करिब ४०० व्यक्तिलाई स्थानीय धर्मपुर माध्यमिक विद्यालय तथा अस्लेवाका विभिन्न स्थानमा स्थान्तरण गरिएको हो । लिम्घामा पनि २०० घरपरिवारलाई स्थानीय सरस्वती माध्यमिक विद्यालयमा राखिएको छ ।