लमजुङको दोर्दी खोलामा बाढीः चार जनाको मृत्यु, ११ बेपत्ता

काठमाडौं, ९ साउन लमजुङको दोर्दी खोलामा आएको बाढीमा परी ४ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन्। बाढीमा परी अपर दोर्खी एको पावर हाउसका लागि काम गरिरहेका मजदूरहरुको मृत्यु भएको हो।

लमजुङको दोर्दी खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएका चार जनामध्ये दुई जनाको सनाखत भएको छ । सात जना अझै वेपत्ता छन् । सनाखत हुनेहरुमा पर्साका अन्दाजी २८ वर्षीय शिवधन चौधरी र डडेलधुराका अन्दाजी ३४ वर्षीय रमेश बुढा रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी रविन्द्रमान गुरुङले जानकारी दिए ।

निर्माणाधीन दोर्दी ‘ए’ जलविद्युत आयोजनामा शिवधनले फलामको काम गर्दथे भने र रमेश हेल्पर थिए । शव फेला परेकामध्ये अन्य दुई जनाको सनाखत हुन बाँकी रहेको डिएसपी गुरुङले जानकारी दिए ।

बुधबार दिउँसो एक्कासी आएको बाढीले जलविद्युत आयोजनामा काम गर्ने मजदुरहरुलाई बगाएको थियो । चार जनाको शव फेला परे पनि अन्य सात जनाको अवस्था अज्ञात छ । मृतक र वेपत्ता सबै पुरुष हुन् ।

बाढीमा वेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको डिएसपी गुरुङले बताए । उनले भने, ‘नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली मिलेर खोजी कार्य जारी राखेका छौं । तर, हराइरहेकाहरुलाई फेला पार्न सकिएको छैन ।’

बुधबार राति परेपछि खोजी कार्य बन्द गरेको सुरक्षाकर्मीको टोलीले बिहीबार बिहानैबाट फेरि खोज्न सुरु गरेको उनले बताए । तर बाढी ठूलो भएकाले खोजी कार्यमा कठिनाइ भइरहेको डिएसपी गुरुङले जानकारी दिए ।

निर्माणको अन्तिम चरणमा रहेको जलविद्युत आयोजनामा विभिन्न ठेकेदार कम्पनीका कामदारहरु खोलामै काम गरिरहेका थिए। अहिले नेपाली सेनाको टोली उद्दारका लागि पुगेको छ। नदीमा एक्कासी बाढी आएपछि आयोजनाका मेसिनहरु, सवारीसाधन समेत बगेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार