बन्दको अवज्ञा गरेको भन्दै मकवानपुरमा दुइवटा गाडीमा आगजनी, काभ्रेको बनेपा बजारमा बम विस्फोट, झापामा तीन वटा एनसेल टावरमा आगजनी

हेटौंडा, १५ साउन – बन्दको अवज्ञा गरेको भन्दै नेकपाका कार्यकर्ताहरुले मकवानपुरमा दुइवटा गाडीमा आगजनी गरेका छन् ।  मकवानपुर फाखेल हुमाने भन्ज्याङमा बा १४ च ८२३४ नम्बरको कार र मनहरी ज्यामिरे खरङ्गामा बा ५ ख १७३९ नम्बरको ट्रकमा आगजनी गरेका छन् ।

आगजनीका कारण कार पूर्ण रूपमा क्षति पुगेको र ट्रकको अगाडिको भाग मात्र जलेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिए । त्यसैगरि,हेटौँडाको थानाभर्याङ, चौकीटोल र हुप्राचौर क्विक पार्टीप्यालेस नजिकै शङ्कास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । सबै शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय गरिसकेको जनाइएको छ ।

काभ्रेको बनेपा बजारमा बम विस्फोट भएको छ । मध्यराति बनेपा नगरपालिकास्थित बनेपा बजारको उग्रेश्वर महादेव मन्दिर नजिकै बम बिस्फोट भएको प्रहरीले बताए।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाका अनुसार विस्फोट भएको जानकारी पाए लगत्तै घटनास्थलमा प्रहरी परिचालित गिरएकाे र क्षतिको भने कुनै विवरण भने नआएको जनाए ।

विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले बुधबार बागमतीसहितका क्षेत्रमा बन्दको आह्वान गरेको छ। उसैले विस्फोट गराएको हुनसक्ने प्रहरीको अनुमान छ। यद्दपि विस्फोटको जिम्मा भने कसैले लिएको छैन।

यस्तै झापामा तीन वटा एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ। जिल्लाको भद्रपुर र कमल गाउँपालिकामा रहेका एनसेल टावरमा आगजनी गरिएको जानकारी प्राप्त भएकाे छ ।

प्रहरीका अनुसार यसअघि पटकपटक नेकपा (विप्लव)ले एनसेलले कर नतिरेको भन्दै टावरमा आक्रमण गरेका कारण यसपटक पनि नेकपाले गरेको हुन सक्ने प्रहरी अनुमान छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार