काठमाडौं, १९ साउन – त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा शनिबार प्राध्यापक लालुप्रसाद पौडेल नियुक्त भएका छन् । त्रिवि भूगर्भ विभागका प्रमुख पौडेललाई प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओली उपचार लागि सिंगापुर उडनुअघि नियुक्ति दिएका हुन् । त्यस्तै सेवा आयोगका सदस्यमा प्राध्यापक डा हेमराज ढकाल नियुक्त भएका छन् । उनी शिक्षा शास्त्र संकायको शैक्षिक योजना तथा व्यवस्थापन समितिका सदस्य हुन् ।
पर्वतका पौडेल पूर्वएमाले र गोरखाका ढकाल पूर्वमाओवादी निकट हुन् । शिक्षामन्त्री तथा सहकुलपति गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठन भएको ३ सदस्यीय सिफारिस समितिले उनीहरु दुई जनाको नाम सिफारिश गरेको थियो ।
‘सिफारिस समितिले अध्यक्ष र सदस्यको नाम दिएपछि प्रधानमन्त्रीले नियुक्ति दिने निर्णय गर्नुभयो,’ मन्त्री पोखरेलले भने । शनिबार नाम सिफारिश गरे लगत्तै उनीहरुलाई नियुक्ति दिइएको हो । उनीहरुले नियुक्ति पत्र भने बुझिसकेका छैनन् ।
तत्कालीन अध्यक्ष, सदस्य र प्रशासकीय प्रमुख सहित १० जना विरुद्ध कर्मचारी भर्नामा अनियमितिता गरेको आरोपमा अख्तियारले मुद्दा चलाएपछि झण्डै एकमहिनादेखि सेवा आयोग पदाधिकारी विहीन बनेको थियो । शिक्षामन्त्री पोखरेलको अध्यक्षतामा गत साउन १४ गते भौतिक शास्त्र केन्द्रीय विभागका प्रमुख प्राध्यापक डा विनिल अर्याल र व्यवस्थापन संकायका डीन प्राध्यापक डा डिल्लीराज शर्मा सदस्य रहेको सिफारिस समिति गठन भएको थियो ।
तत्कालिन अध्यक्ष चैतन्य शर्मा मुद्दाका कारण निलम्बित भएसँगै गत साउन ५ गते तीन वर्षे कार्यकाल सकिएर स्वतः पदमुक्त भएका थिए । सदस्य चिन्तामणि पोखरेल निलम्बित भएपनि उनको समयावधी २०७७ कात्तिकसम्म बाँकी छ ।
प्रशासकीय प्रमुख पर्शुराम कोइराला समेत खुल्ला प्रतिस्पर्धाको परीक्षार्थीको अंक फेरबदल गरेकोमा निलम्बन परेका छन् । त्यसका कारण सेवा अयोगको दैनिक कामकाज प्रभावित हुँदै आएको छ। सदस्य पोखरेलको मुद्दा किराना नलाग्दै ढकाललाई नियुक्त दिने निर्णय भएको हो । – कान्तिपुर दैनिक