मंसिर १४ मा उपनिर्वाचनहुने स्थानिय वडाहरु यी हुन्

काठमाडौं, २१ श्रावण — मसिंर–१४ मा तोकिएको उपनिर्वाचनले सातवटै प्रदेशलाई छुने भएको छ । निर्वाचन आयोगका अनुसार उपनिर्वाचन हुने वडाहरू सबै प्रदेशमा छन् ।  प्रतिनिधिसभातर्फ कास्की– २, प्रदेशसभातर्फ बागलुङ २(२), भक्तपुर १(१) र दाङको ३(२) निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । त्यस बाहेक ४२ स्थानीय तहमा उपनिर्वाचन हुन लागेको हो  ।

स्थानीय तहतर्फ उपमहानगरपालिका प्रमुख– १, गाउँपालिका अध्यक्ष–३, गाउँपालिका उपाध्यक्ष–१ र वडाध्यक्ष–४१ पदहरु रिक्त छन् । स्थानीय बाहेक तीनवटै तहका रिक्त स्थानहरुमा एकै दिन उपनिर्वाचन हुन लागेको हो । विभिन्न ३६ जिल्लामा गरी तीनवटै तहका रिक्त ५० स्थानमा उपनिर्वाचनको तयारी छ । उपनिर्वाचनको मिति घोषणापछि भोजपुर पौवादुङमा गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्षको निधनका कारण त्यहाँ पद रिक्त हुन पुगेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अहिले निर्वाचन हुने सूचीमा उक्त वडा नरहेको बताए । तर, निर्वाचन कार्यक्रम घोषणा हुनुपूर्व सरकारले रिक्त रहेका थप स्थानहरुको सूची पठाए मसिंर–१४ मै ती स्थानहरुमा उपनिर्वाचन गर्न सकिने उनले उल्लेख गरे ।

निर्वाचन आयोगका अनुसार प्रदेश नम्बर १ को ८ वटा स्थानीय तहमा उपनिर्वाचन हुन लागेको छ । त्यसमध्ये सुनसरी धरान उपमहागरपालिकाको प्रमुख र पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष र संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्ष पदका लागि उपनिर्वाचन हुनेछ । त्यसबाहेक वडाध्यक्षका लागि पाँचथरको फिदिम नगरपालिका– १, हिलिहाङ्ग गाउँपालिका–७, मोरङ घनपालथान गाउँपालिका–२, सुनसरीको धरान उपमहानगर–७, संखुवासभा खाँदवारी नगरपारिका–३, खोटाङको साकेला गाउँपालिका– ३ मा निर्वाचन हुँदैछ ।

स्थानीय तहमा सबैभन्दा बढी स्थान प्रदेश २ मा रिक्त देखिएको छ । त्यहाँ गाउँपालिका अध्यक्ष १ र वडाअध्यक्ष ९ रिक्त छन् । महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि निर्वाचन हुनेछ । त्यसबाहेक सप्तरीको छिन्नमस्ता गाउँपालिका– ७, सिराहाको कल्याणपुर नगरपालिका–१२, महोत्तरीको बलवा नगरपाकिलकाको वडा नम्बर ८ र २, महोत्तरी मटिहानी नगरपालिका– ६, सर्लाहीको हरिपुर्वा नगरपालिका–१, रौतहटको गढिमाई नगरपालिका–२, बाराको बारागढी गाउँपालिका–१ र पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ मा वडाध्यक्ष पद रिक्त छन् । आयोगले ती सबै स्थानमा उपनिर्वाचन हुने जनाएको छ ।

प्रदेश– ३ मा रिक्त रहेका ६ वटा वडाध्यक्ष पदका लागि उपनिर्वाचनको तयारी छ । रामेछापको उमाकुण्ड गाउँपालिका–५, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८, काभ्रेपलान्चोकको धुलिखेल नपा–२, काठमाडौँ दक्षिणकाली नपा–३, चितवनको खैरहनी नपाको वडा नम्बर ४ र ५ को रिक्त वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुनेछ ।

गण्डकी प्रदेशमा जम्मा ३ वटा वडा रिक्त छन् । लमजुङ सुन्दरबजार नपा–२, बाग्लुङ्ग बडिगाड गापा–२ र नवलपरासी बर्दघाट सुस्ता पूर्व बैदीकाली गापा–५ मा उपनिर्वाचन हुनेछ । प्रदेश– ५ मा ९ वटा वडामा वडाध्यक्ष पद रिक्त छन् । गुल्मीको रुरुक्षेत्र गापा–६, अर्घाखाँची मालारानी गापा–३, प्युठानको प्यूठान नपा–२, प्यूठान ऐरावती गापाको वडा न. १ र २, रोल्पाको थावाङ गापा–१, कपिलवस्तु शिवराज नपा–१०, दाङ घोराही उपमहानगर–१६, बाँके कोहलपुर नपा– ६ मा वडाध्यक्षको उपनिर्वाचन हुने आयोगले जनाएको छ ।

कर्णाली प्रदेशमा उपाध्यक्ष–१ र वडाध्यक्ष– १ गरी दुई पदमा उपनिर्वाचनको तयारी छ । हुम्ला खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पद र सल्यान कुमाख गापा–५ को वडाध्यक्ष पद रिक्त छन् ।

त्यसै गरी सुदूरपश्चिम प्रदेशमा ७ वटा रिक्त वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुने आयोगले जनाएको छ । जसअनुसार बाजुराको त्रिवेणी नपा–१, अछामको मल्लेख गापा-५, डोटीको आदर्श गापा-२, कञ्चनपुरको पुर्नवास नपा-३, बैतडीको पुचौंडी नपा-४, सुर्नया गापा-१ र दोगडाकेदार गापा-४ मा वडाध्यक्ष रिक्त छन् । — कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार