ल पढ्नुहोस् घुस खाने नयाँ शैली, अख्तियारलाई छल्न विभिन्न उपायको खोजी

काठमाडौं, २३ श्रावण – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस खाने कर्मचारीविरुद्ध स्टिङ अप्रेसन तीव्र पारेपछि कर्मचारीले घुस खान नयाँनयाँ शैली अपनाउन थालेको पाइएको छ । अख्तियारका अनुसार घुस खाने कर्मचारीले बिचौलियाका साथसाथै दोस्रो व्यक्तिको खातामा पैसा राख्न लगाएर लामो समयपछि पैसा झिक्ने शैली अपनाउने गरेका छन् ।

यसैगरी नगदको साटो जिन्सी सामानमार्फत घुस लिने शैली पनि अपनाउन थालेका छन् । घुस रकमको साटो घरमा विलासिताका सामान थुपार्ने प्रवृत्ति पनि कर्मचारीमा देखिएको अख्तियारको भनाइ छ । यसैगरी, प्रहरी सुरक्षाकर्मीतर्फ टिपरहरूबाट वा अन्य कुनै व्यापारिक थलोबाट मासिक रूपमा रकम उठाएर अनियमितता गर्ने गरेको पाइएको छ ।

अख्तियारले एक वर्षको अवधिमा घुस खाने २ सयभन्दा बढी कर्मचारीलाई रंगेहात पक्राउ गरेको छ । यसरी पक्राउ परेका कर्मचारीबारे अध्ययन गर्दा घुस खाने प्रवृत्ति फरकफरक पाइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । ‘पक्राउ परेका कर्मचारीबारे अध्ययन गर्दा घुस खाने शैली फरकफरक पाइएको छ,’ प्रवक्ता कोइरालाले भने ।

अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीलाई मंगलबार नियन्त्रणमा लिएको छ ।

बिचौलियासँग मिलिमतो गरी अनियमितता गरेको प्रमाणका आधारमा अख्तियारले उनलाई पक्राउ गरेको हो । वैदेशिक रोजगारीको सिलसिलामा श्रम स्वीकृति नलिई कतार दुबईमा ट्रान्जिट भई विभिन्न मुलुकमा जाने व्यक्तिलाई भिजिट भिसामा पठाउन बिचौलियासँग मिलेमतोमा गैरकानुनी काम गरेको पाइएपछि नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता कोइरालाले जानकारी दिए ।

विगतमा पनि मालपोत, भन्सार, यातायात, नापी, उद्योग, स्थानीय तहलगायतका सरकारी अड्डाका कर्मचारीले बिचौलियासँग मिलेर अनियमितता गर्दै आएको अख्तियारको अध्ययनले देखाएको छ ।

हुन्डीमा भने अख्तियारले भेउ नै पाएन

अख्तियारले सानातिना घटनामा घुस खाने प्रवृत्ति औंल्याए पनि ठूलाठूला अनियमितताका घटना र त्यस क्रममा आउने पैसा हुन्डीमार्फत विदेशमा पठाउने प्रवृत्तिको कर्मचारी शैलीबारे भने कुनै अनुसन्धान गर्न सकेको छैन ।

स्रोतका अनुसार राजस्व र भन्सार क्षेत्रमा कार्यरत कर्मचारीले अनियमित किसिमले आर्जन गरेको रकम हुन्डीमार्फत भारतका विभिन्न सहर तथा अस्ट्रेलिया र युरोपसम्ममा समेत पु¥याउने गरेका छन् । कर्मचारीका यस्ता शैली रोक्न भने अख्तियारको स्टिङ अप्रेसन प्रभावकारी बन्न नसकेको गुनासो सरोकारवालाको छ । – राजधानी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार