बालुवा निकालेको खाल्डोमा डुबेर २ युवकको मृत्यु भएपछि स्थिती तानावपूर्ण

काठमाडौं, २६ श्रावण — बालुवा निकालेको खाल्डोमा डुबेर स्थानीय २ जना युवकको मृत्यु भएपछि स्थानीयवासीले स्काभेटर जलाएका छन् । गजुरी(६ दरियाल खोलामा बालुवा व्यापारीहरुले बालुवा झिक्दा खनेका गहिरो खाल्डोमा डुबेर गजुरी ७ भस्मेडाँडाका २१ वर्षीय भिम तामाङ र २३ वर्षीय सुमन स्याङताङको मृत्यु भएको थियो ।

दरियाल खोलामा थुन्सेमा बालुवा बोकेर गुजारा गर्ने स्थानीय ३ जना मजदुरहरु शनिबार बिहान खोला छेकेर स्काभेटरले खनेको खाल्डोमा डुबेका थिए। उनीहरुसँगै डुब्न थालेका २१ वर्षीय विक्रम स्याङताङलाई किनारमा बसेका भतिजा स्तिाराम तामाङले लौरी दिएर तान्न सफल भएका थिए। ‘मैले काका विक्रमलाई तान्दा तान्दै भिम र सुमन डुबिसकेछन्’ सीतारामले भने।

यस अघि नै ३ जना विद्यार्थीहरु र एक हल गोरु खाल्डोबाट उद्धार गरिसकेका स्थानीयहरुले यस्तै दुर्घटनाको आशंकामा खोलामा डोजररस्काभेटर लगायतका उपकरणहरु पस्न नदिन प्रशाासन घेराउ पनि गरेका थिए। ‘प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र दिएर पनि बालुवा झिक्न खोलामा डोजर लगायतका उपकरणहरु पस्न छोडेका थिएनन्। नतिजा यस्तो दर्दनाक देखियो’ स्थानीय स्यामेडाँडाकी विमला चेपाङले भनिन्।

शनिबार बिहान घटना लगत्तै गजुरीस्थित प्रहरी चौकीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काको नेतृत्वमा प्रहरीले रोक्दा रौक्दै आक्रोशित आफन्तजनहरुले बगरमा राखिएका ३ वटा स्काभेटरमा आगजनी गरेका हुन्। आगजनी गरिएका उपरकणहरुको नम्बर छैन। स्थानीयवासीका अनुसार आगजनी गरिएका मेसिनहरु टंक पाण्डे, महेश रिजाल र अन्य स्थानीय निकायका पदाधिकारीहरुको हो।

अपरान्ह २ बजे मृतकको शव खाल्डोबाट निकालिएको थियो। प्रहरीले मुचुल्का गरेपनि हस्ताक्षर कसैले पनि गर्न मानेनन्। स्थानीयवासी र मृतकका आफन्तजनहरुले ठेक्का लगाउने गाउँपालिका अध्यक्ष, खोला दोहन रोक्न नसक्ने स्थानीय प्रशासन र प्रहरी घटनास्थलमै आएर अध्ययन नगरेसम्म शव पनि उठाउन नदिने र मृतकमा परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, खोलानालाको दोहन रोक्नुपर्ने लगायतका माग राखेका छन्।

प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेय, गाउँपालिका अध्यक्ष राजेन्द्र बस्नेत, जिल्ला प्रहरी प्रमुख राजकुमार वैदवारसहितको टोली समस्या समाधान गर्न गजुरीस्थित ईलाका प्रहरी कार्यालयमा बसेको छ। मृतकका आफन्तजनहरुलाई प्रहरी चौकीमै बोलाएर समस्या समाधान गर्न खोजेपनि आफन्तहरुले शव पनि उठाउन नदिने र घटनास्थलमै वार्ता हुनुपर्ने माग राखेका छन्।

त्रिशूली नदी र स्थानीय खोलाका खाल्डामा परेर विगतका ५ वर्षमा डोजर चालक, स्कुले विद्यार्थी, गर्मीयाममा नुहाउने युवाहरु, त्रिशूली किनारमा पिकनिक आएका विद्यार्थीहरु समेत गरी ४९ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। – कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार