प्रधानमन्त्री ओलिको मिर्गौलामा खराबी देखिएपछि थप उपचारको लागि सिंगापुर प्रस्थान

काठमाडौं, ६ भाद्र – शरीरमा एन्टिबडीको मात्रा बढी देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली थप परीक्षणका गर्न बिहीबार अपराह्न सिंगापुरतर्फ गएका छन् । प्रधानमन्त्री ओलीको सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा मिर्गौलाको कार्यक्षमता र औषधिको प्रभाव सम्बन्धमा परीक्षण हुनेछ ।

दुवै मिर्गौला प्रत्यारोपण गरेको १२ वर्षपछि खराबी देखिएको छ । ओलीको शरीरमा एन्टिबडी देखिएको निजी चिकित्सक डा. दिलीप शर्माले बताए । डा. शर्माले भने, ‘प्रधानमन्त्रीको सम्पूर्ण स्वास्थ्य परीक्षण हुनेछ । उपचारको मोडालिटीबारे थप नयाँ कुरा पनि आउनेछन् ।’ ओलीको उपचारका लागि सातदेखि दस दिनसम्म लाग्ने शर्माले बताए ।

प्रधानमन्त्री ओलीले यसअघि १० दिन (साउन १८ गतेदेखि २७ गतेसम्म)  सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराएका थिए । एन्टिबडीलाई शरीरबाट निष्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन उनी पुनः सिंगापुर जानुपरेको डा. दिव्यासिंह शाहले बताइन् । डा. शाह सिन ओलीसँगै सिंगापुर गएकी छन् ।

मिर्गौलाको कार्यक्षमतामा ह्रास

६७ वर्षीय ओलीको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएको चिकित्सकहरूले बताएका छन् । वरिष्ठ मिर्गौला रोग विशेषज्ञसमेत रहेकी निजी चिकित्सक डा. शाहका अनुसार ओलीको शरीरमा मिर्गौलासम्बन्धी एन्टिबडीको मात्रा केही बढी देखिएको छ । एन्टिबडी बढ्दा प्रत्यारोपण गरिएको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएको संकेतका रुपमा लिनुपर्ने मिर्गौला रोग विशेषज्ञको भनाइ छ ।

मिर्गौलाको क्रियटिनिनको मात्रा पनि सामान्यभन्दा केही बढी देखिएको अर्का निजी चिकित्सक डा। शर्माले जानकारी दिए । क्रियटिनिनको मात्रा सामान्य अवस्था १.५ भन्दा बढी अर्थात् २ को हाराहारीमा छ । ‘मिर्गौलाले काम गर्न छोड्दैछ भन्नका लागि क्रियटिनिनलाई मात्र एउटा आधार बनाएर हुँदैन । मिर्गौलाले काम गर्न छोडेको अवस्थामा धेरै आधार पनि जोडिएका हुन्छन्,’ डा. शर्माले भने ।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेका अनुसार दुईवटा कारणले क्रियटिनिन बढ्छ । एउटा तत्काल कोष बढेर देखिने समस्या (सेलुलर रिजेक्सन) र दोस्रो, एन्टिबडी बढेर पनि समस्या हुन्छ ।

प्रधानमन्त्री ओलीलाई एन्टिबडी बढेर समस्या भएको हो । ‘एन्टिबडी बढेर भएको रिजेक्सन खतरनाक हो । तत्काल कुनै साधारण औषधिले ठिक हुन सक्दैन । क्रियटिनिन नर्मलबाट बढ्नु भनेको मिर्गौलाको कार्यक्षमता घटेको हो’, डा। काफ्लेले भने । उपचार गरेर क्रियटिनिनलाई सामान्य अवस्थामा फर्काउन सके मिर्गौलाले दस वर्ष काम गर्न सक्ने डा। काफ्लेले बताए ।

प्रधानमन्त्री ओलीमा देखिएको एन्टिबडीको मात्रा घटाउन सके मिर्गौला बिग्रने क्रम तीव्र नभई सुस्त गतिमा हुने डा। काफ्लेको भनाइ छ । अब गरिने उपचारबाट मिर्गौलाको स्थितिबारे प्रस्ट हुन सकिने चिकित्सकहरूले बताए । उपचारपछि एन्टिबडीको लेभल घट्छ–घट्दैन र क्रियटिनिन नर्मल लेभलमा आउँछ–आउँदैन भन्ने परीक्षणले नै धेरै कुरा निर्धारण हुने डा। काफ्लेको भनाइ छ ।

अत्याधुनिक प्रविधिको उपचारबाट स्वास्थ्यलाभ हुन सक्ने डा। काफ्लेले बताए । प्रधानमन्त्री ओलीको उपचारमा कुनै पनि कसर बाँकी नराख्न सिंगापुर जान सल्लाह दिइएको निजी चिकित्सक डा। शर्माको भनाइ छ ।

सूक्ष्म परीक्षण गरिने

निजी चिकित्सक डा। शर्माका अनुसार प्रधानमन्त्री ओलीले सेवन गरिरहेको औषधिको प्रभाव र मिर्गौलाको अवस्थाबारे सूक्ष्म परीक्षण हुनेछ । उनले भने, ‘मिर्गौलाको थप परीक्षण र उपचारका क्रममा देखिने प्रभावको सूक्ष्म अध्ययन विज्ञहरूले गर्नेछन् ।’

सिंगापुरमा रहँदा शरीरले निष्कासन गरेका विभिन्न एन्टिबडीको जाँच गरिनेछ । नयाँ प्रविधि भएको र उपचारमा पनि नाम कमाएका कारण सिंगापुर जानुपरेको डा। शर्माले बताए ।

नेसनल युनिभर्सिटी अस्पतालका विज्ञ चिकित्सक र डा. शाहसहितको टोलीले मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचारसमेत गर्ने जनाइएको छ ।

यसैबीच प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बिग्रँदासमेत गुपचुप राखिएको भन्दै नेपाल चिकित्सक संघका अध्यक्ष डा। मुक्तिराम श्रेष्ठले आपत्ति जनाएका छन् । राजधानीमा बिहीबार आयोजित साक्षात्कारमा उनले भने, ‘राष्ट्रको ढुकुटी खर्च गरी उपचार गराएपछि सबै जानकारी दिनुपर्छ । जनतालाई ढाँट्दा प्रश्न उठ्छ ।’

नेपालको मेडिकल बोर्डको सिफारिसमा मात्र थप उपचार गर्न विदेश जानुपर्नेमा निजी चिकित्सकको सल्लाहअनुसार प्रधानमन्त्री उपचारका लागि सिंगापुर गएकोमा उनले आपत्ति जनाए ।

गोप्य राखिएको प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे निजी चिकित्सक डा. शाहले सिंगापुर प्रस्थान गर्नुअघि मात्र जानकारी गराएकी थिइन् । सिंगापुरमा रहँदा प्रधानमन्त्री ओलीको स्वास्थ्यमा नयाँ र उल्लेखनीय जानकारी प्राप्त भए मिडियामार्फत सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । – अन्नपूर्ण दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार