काठमाडौं, ११ भाद्र – नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको लागि १४ बैंकर्सहरु प्रतिष्पर्धामा रहेपनि उक्त बैंकमा कार्यरत सिनियर दशाै तहका अधिकृत कर्मचारी सुन्दर पन्थीको संभावना बढेको बुझिन्छ ।
नेपालको बैंकिंग बजारका अनुभवप्राप्त पूर्व देखि वर्तमान कर्मचारीहरु प्रतिष्पर्धामा भएपनि बहु–प्रतिभाशाली, सक्षम, आत्मविश्वासी, स्वविवेकी तथा निर्णय क्षमताका धनी पन्थीको यतिबेला सर्वत्र चर्चा चलेको छ । उनलाई नेपाल बैंक लिमिटेडका सम्पूर्ण कर्मचारी र संघ, संगठनहरुले समेत बैंकमा कार्यकारी प्रमुखको रुपमा ल्याउन रुचाहेको जानकारीमा आएको छ ।
प्राप्त स्रोतका अनुसार पूर्व प्रमुख कार्यकारी अधिकृतहरुले समेत नेपाल बैंक लिमिटेडको सिईओमा आवेदकहरु मध्ये सुन्दर पन्थीले मात्र बैंक चलाउन सक्ने भन्दै आएको बुझिएको छ । पन्थी शंकरदेव क्याम्पसबाट स्नातकोत्तरको अध्ययन सकी नेपाल बैंकमा प्रवेश गरी बैंकको विभिन्न स्थानमा प्रबन्धक भै सफलता पूर्वक कार्य गरेको र झण्डै एक दर्जन विभागहरुको नेतृत्व लिई सफल कार्य सम्पादन गरेको जानकारीमा आएको छ ।
पन्थी विद्यार्थी समयमा शंकरदेव क्याम्पसको अनेरास्ववियुको अध्यक्ष भै कार्य गरेको र आफ्नो जिम्मेवारी प्रभावकारी रुपमा पुरा गरेको सुन्नमा आएको छ । उनका अंकल नेकपाका पूर्व सभासद्, केन्द्रीय सदस्य तथा इमान्दार नेता (नेत्र पन्थी) को रुपमा परिचित छन् । प्राप्त जानकारी अनुसार उनलाई नेपाल बैंकको सिईओ बनाउने लगभग पक्का भएको बुझिन्छ ।
मौद्रिक, अर्थशास्त्र, बाणिज्य शास्त्र, तथ्याङ्क शास्त्र, लेखा, गणित, ब्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको व्यक्तिले आवेदन दिन सक्नेछन् र बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्व विद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ संस्थाको अधिकृत तह वा सो भन्दा माथिको पदमा कम्तीमा १० वर्षको कार्य अनुभव भएको हुनु पर्ने भएकोले पनि आवेदन न्युन परेको बुझिन्छ ।
आवेदकले ५ हजार शब्दमा नबढ्ने गरी व्यवसायिक योजना सिलबन्दी पेश गर्नु पर्ने भएको हुँदा व्यवसायीक योजना समेत पन्थीको अति उत्तम रहेको बुझिन आएको छ । उम्मेदवारको शैक्षिक योग्यता अनुभव, पेश भएको व्यवसायिक योजनाको मूल्याङ्कनमा कम्तीमा ६० प्रतिशत अंक प्राप्त गर्ने उम्मेदवारहरुमध्ये संभव भएसम्म ५ जना उम्मेदवार छनौट गरी व्यवसायिक योजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि छनोट गरिने बुझिन्छ र उच्चत अंक प्राप्त गर्ने संभव भएसम्म ३ जनालाई सिफारिस गरी सञ्चालक समितिबाट सिईओको नियूक्ति हुने प्रावधान रहेको छ ।
पन्थी बैंकमा प्रष्ट बोल्ने, ईमान्दार, निडर स्वभावका र स्वार्थ रहित भएकोले पनि सम्पुर्ण कर्मचारीहरु माझ उनी निकै लोकप्रिय रहेकोले पनि उनलाई सिईओ बनाउन लागिपरेको बुझिन्छ । उनले बैंकमा नयाँ नयाँ नीति, कार्यविधि, र मार्गदर्शन लगायत बैंकको पञ्चवर्षिय रणनीतिक योजना बनाउन पनि पन्थीले नेतृत्व लिएको जानकारीमा आएको छ । साथै पन्थीले आन्तरिक नियन्त्रण प्रणाली र संस्थागत सुशासनमा निकै जोड दिदै आएको बुझिन्छ ।