यस दिन प्रयोग हुने कुशको छुट्टै महत्व छ । धार्मिक र सांस्कृतिकदेखि स्वास्थ्यका दृष्टिकोणले पनि उपयोगी मानिन्छ ।
तराईदेखि पहाडसम्म पाइने एक किसिमको घाँस कुशको जराबाट विभिन्न आयुर्वेदिक उपचार हुने वनस्पतिविद् बताउँछन् । विशेष गरी धार्मिक तथा पितृकार्य गर्दा कुशको औंठी, ब्राह्मण, मोटक, पवित्र, कुशको टुक्रा आदि प्रयोग गर्ने परम्परा छ ।पौराणिककालमा कुशको प्रसंग उल्लेख छ ।
सत्ययुगमा जालन्धरपत्नी वृन्दाको पतिव्रता धर्म नष्ट गराएका भगवान् विष्णुलाई श्राप परी ‘घाँस हुनुपरोस्’ भनी कुश हुनुपरेको श्रीषखण्ड पुराणमा उल्लेख छ । यसैगरी, गुरुडले माता विनितालाई दासत्वबाट मुक्त गराउन अमृत भण्डार लिन जाँदा कुश फेला परेको विष्णुपुराणमा उल्लेख छ ।
यसैगरी, कालकुट विष निकालेर आएको अमृत कुश भएको ठाउँमा राखिँदा सर्पले अमृत भण्डारमा गएर खान खोज्दा कुशले जिब्रो काटिएकाले त्यतिबेलादेखि सर्पहरूको दुईओटा जिब्रो भएको कथन छ ।
बलिराजा र शुक्राचार्यबीच पनि कुशकै कारण मनमुटाव भएको प्रसंग पुराणमा छ । त्यस्तै, भगवान् बलरामले भूलवश सुतजीलाई मारेकाले त्यही स्मरणमा हरेक धार्मिक तथा पैतृक कर्म गर्दा कुशको ब्राह्मण बनाउने नियम बनेको पण्डित माधवप्रसाद शर्माले बताए । ‘कुशमा ब्रह्मा, विष्णु र महेश्वरको स्वरूप हुन्छ,’ उनले भने ।
बुबाको मुख हेर्ने दिन पितृ तथा गोकर्ण औंशीबाट प्रसिद्ध यस दिनलाई बाबुको मुख हेर्ने दिनका रूपमा लिने गरिन्छ ।
छोराछोरीले बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई सम्मान प्रकट गर्ने परम्परा छ ।
आफूलाई जन्म दिई लालनपालन गरी हुर्काएकामा बाबुप्रति कृतज्ञता ज्ञापन गर्न पितृ दिवसका रूपमा मनाइने यस पर्वमा छोराछोरीले बाबुलाई सम्मान गर्ने चलन छ ।