काठमाडौं — नेपाल राष्ट्र बैंकले सर्वसाधारणको खाता सुरक्षित रहेकाले निर्धक्क भएर कारोवार गर्न आग्रह गरेको छ । चिनियाँ नागरिकले नेपाली बैंकको एटिएमबाट पैसा निकालेपछि छलफलमा जुटेको केन्द्रीय बैंकले सुरक्षाका कुन–कुन विषयमा कमजोरी रह्यो भन्ने बारेमा गम्भीररूपमा अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।
बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले कुरा गर्दै भन्नुभयो, “आम नागरिकको खातामा रहेको रकम सुरक्षित छ । कुनै चिन्ता लिनुपर्दैन”, उहाँले बैंक तथा वित्तीय संस्थालाई समेत ढुक्क भएर कारोवार गर्न र सेवाग्राहीलाई सेवा दिन आग्रह गरिएको जानकारी दिनुभयो ।
चिनियाँ नागरिकले शनिबार साँझ दरबारमार्गको एटिएमबाट एक करोड पाँच लाख भारतीय रुपैयाँ र रु एक करोड ७६ लाख निकालेका थिए । बैंकिङ सुरक्षाको विषयमा कुनै कमजोरी भयो भन्ने विषयमा केन्द्रीय बैंकले केही निष्कर्ष निकाल्यो त ? भन्ने प्रश्नमा प्रवक्ता निरौलाले भन्नुभयो, “त्यस विषयमा सम्बन्धित क्षेत्रका जानकार तथा विज्ञ सम्मिलित अध्ययन समिति बनाएर तथ्यहरुको छानविन गर्छौ ।”
उहाँले बैंक तथा वित्तीय संस्थालाई पनि थप सर्तकर्ता अपनाउनसमेत निर्देशन दिइएको छ । एटिएमबाट पैसा झिक्नका लागि नबिल बैंक, नेपाल एसबीआई बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएम प्रयोग गरिएको छ । चिनियाँले प्रभु बैंक, एनआइसी एशिया, जनता, ग्लोबल आइएमइ बैंक र सनराइज बैंकका एटिएम बुथबाट पैसा निकालिएको छ ।
प्रहरीले एटिएमबाट पैसा लुटने चिनियाँ नागरिकलाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ । बैंकको एटिएम वरिपरि शङ्कास्पद गतिविधि गरेको पाइएपछि प्रहरीले केहीलाई दरबारमार्गबाट र केहीलाई हात्तीसारबाट पक्राउ गरेको थियो ।
पक्राउ पर्नेहरूमा चिनियाँ नागरिकहरु राहदानी नम्बर ई ३२३७७७१३ वाहक Lin Jianmeng, राहदानी नम्बर ई ०९५५२६३७४ वाहक Luo Jialei, राहदानी नम्बर ईसी १९३७५५८ वाहक Zhu Liangang, राहदानी नम्बर ईएच ०२७७६५०वाहक Qiu Yunqing र राहदानी नम्बर ई ८९०५६८२५ वाहक Chen Bin Bin रहेका छन् ।
उनीहरुबाट १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ, ९ हजार १ सय ८ अमेरिकी डलर, १ हजार १ सय ९१ चिनियाँ युआन, २ सय ५० युरो, ५ हजार क्याम्बोडियन मुद्रा, ८० हङकङ डलर, नक्कली भिषाकार्ड १ सय ३२ थान, सक्कली भिषाकार्ड १७ थान, कार्ड प्रिन्टर मेसिन १ थान, मोबाइल ६ थान, ल्यापटप १ थान, डाटा कार्ड १ थान बरामद भएको छ ।
नेपाल प्रहरीलाई बिशेष धन्यबाद – बैंकर्स संघका अध्यक्ष ढुंगाना
चिनियाँ ह्याकरहरुले नेपालका एटिएम ह्याक गरेको विषयमा बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले यस्ता घटनाहरु अन्तराष्टिय जगतमा समेत भइरहने गरेको बताएका छन् ।
एक डेढ करोड घाटा भए पनि बैंकले कुनै पनि ग्राहकलाई मर्का नपार्ने बताए । ह्याकरले लुटेको पैसा सहित प्रहरीले ह्याकरहरुलाई समातेपछि नेपाल प्रहरीलाई उनले बिशेष धन्यबाद समेत दिएका छन् ।