सी नेपाल आउन इच्छुक भएसँगै भ्रमणको तयारी शुरू

काठमाडौं, १७ भदाै – चिनियाँ राष्ट्रपति सी जिनफिङ नेपाल भ्रमणमा आउन सकारात्मक भएसँगै दुवै मुलुक भ्रमणको तयारीमा जुटेका छन्। आगामी असोज अन्तिम साता सी नेपाल आउने भएसँगै भ्रमणको तयारी अघि बढाइएको हो।

राष्ट्रपति सी आगामी असोज अन्तिम साता भारतको तमिलनाडुस्थित ममल्लापुर भ्रमणमा जाने र सोही क्रममा काठमाडौं आउने बताइएको छ। सी नेपाल हुँदै भारत जाने वा भारत भ्रमण सकेर नेपाल आउने भन्नेबारे अझै टुङ्गो नलागे पनि उहाँको भ्रमण हुने बलियो संकेत आएसँगै यसबारेको तयारी अघि बढाइएको गृह मन्त्रालयले जनाएको छ।

सीको भ्रमणको सुरक्षा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नेपालले प्रदान गरेको सुरक्षाभन्दा कमजोर हुन नहुने चिनियाँ पक्षको जोड रहेको सो मन्त्रालयका एक अधिकारीले बताए। ती अधिकारीका अनुसार गत असार र साउनमा नेपाल आएको चिनियाँ सुरक्षा टोलीले मोदीसरह र अझ उपल्लोस्तरको सुरक्षा सुनिश्चिताको अडान दोहोर्याएको हो।

सीको भ्रमणको सुरक्षाका लागि सुरक्षा निकायको युनिफाइड कमान्डोले उच्चस्तरीय भ्रमणको सुरक्षा योजना हस्तान्तरण गरेको बताइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा सी नेपाल आउने चर्चा भए पनि नेपालले भ्रमणबारे पर्याप्त गृहकार्य नगरेको दाबी गर्दै चीन पछि हटेको थियो।

भारतका राष्ट्रपति प्रणव मुखर्जी २०७३ कात्तिक तेस्रो साता नेपाल आउँदा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारले दुवै छिमेकका राष्ट्रपति नेपाल आउने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। उक्त निर्णयसँगै कतिपय कूटनीतिक व्यक्तिले नेपाल चीनलाई रिझाउन र दुवै छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गर्न चाहन्छ भन्ने सन्देश दिन सी भ्रमणको टुङ्गो नलाग्दै सार्वजनिक बिदाको घोषणा गरेको टिपपणीसमेत गरेका थिए।

यसपटक सीले नेपाल भ्रमण गर्ने भएसँगै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका वरिष्ठ अधिकारी सुरक्षाको तयारीमा जुटेका छन्। सबै सुरक्षा निकायका उच्च अधिकारी संलग्न विभिन्न चरणको छलफल भइसकेको सुरक्षा निकायले जनाएको छ।

सुरक्षा स्रोतले भन्यो– ‘उहाँ (सी)को भ्रमणको मिति टुङ्गो लागेको खबर हामीलाई पनि आएको छैन तर भ्रमणलाई लक्षित गर्दै सुरक्षा तयारी भने भइरहेको छ।’
नेपालका राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीबाट हुने चीन भ्रमणका क्रममा नेपालले राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्तो दोहोर्याउँदै आएको छ।

प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको चीन भ्रमण र चीनका तर्फबाट हुने विशिष्ट अधिकारीको नेपाल भ्रमणका क्रममा नेपालले सीलाई भ्रमणको निम्तो दोहोर्याउने गरेको छ। नेपालले पठाएका निम्ताप्रति सकारात्मक सीले उपयुक्त समयमा नेपाल आउने बताउँदै आउनुभएको छ। —नेपाल समाचारपत्र

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार