काँग्रेस दोस्रो चरणको जागरण अभियानमा – देशव्यापी सदस्यता वितरण गर्ने, असोज ७ गते विरोध प्रदर्शन

काठमाडौं, १९ भदौ – नेपाली कांग्रेसले जननायक वीपी कोइरालाको १०६ औं जन्म जयन्तीका दिन भदौ २४ गतेबाट हिमाल, पहाड, तराई–मधेश (हिपतम) जागरणको दोस्रो चरणको अभियान सुरु गर्ने भएको छ । नेपाली काँग्रेसले व्यापक रुपमा सदस्यता वितरण गर्ने भएको छ ।

काँग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णयबारे १९ भदौमा पार्टी केन्द्रीय कार्यालय सानेपामा जानकारी दिदै प्रवक्ता विश्वप्रकाश शर्माले दोस्रो चरणको जागरण अभियान चलाउने भन्दै त्यस क्रममा सदस्यता वितरणलाई देशव्यापी बनाउने जानकारी दिएका हुन् ।

काँग्रेसमा नयाँ सदस्य वितरण देखि अन्य पार्टीबाट प्रवेश गर्न चाहनेलाई सदस्यता वितरण गर्ने शर्माले बताए । पहिलो चरणमा गरिएको जागरण अभियानमा ३१ हजार छ सय ४२ जना काँग्रेस प्रवेश गरेको भन्दै अर्को चरणमा योभन्दा ठूलो संख्या प्रवेश गर्ने बताए ।

काँग्रेस उपसभापति विजयकुमार गच्छेदार ,विमलेन्द्र निधिका महामन्त्रीहरु डा. सशांक कोइराला , पूर्णबहादुर खड्काको बीचमा बसेर शर्माले पार्टी निर्णय सुनाए ।

उनले काँग्रेस दोस्रो चरणको जागरण अभियानका कार्यक्रम समेत सार्वजनिक गरे । असोज ७ गते अन्तिम दिन जिल्ला स्तरीय विरोध प्रदर्शन समेत हुने भएको छ ।  त्यस बाहेक जागरण अभियानको यो चरणमा पार्टीका नेता एवं प्रतिनिधिहरूले बोल्ने भन्दा सुन्ने विषयलाई विशेष प्राथमिकतामा राखिएको छ । यद्यपि स्थानीय आवश्यकता अनुरूप कतिपय कार्यक्रम तय गर्न तलका समितिहरूले सक्नेछन् ।’

राष्ट्रिय जागरण अभियानको उद्देश्यः-

(१) राष्ट्रव्यापी रुपमा पार्टी पक्तिमा सांगठनिक गति, एकता, समन्वय र हार्दिकता अभिवृद्धि गर्र्दै पार्टी सुदृढिकरणका विविध गतिविधि अघि बढाउदै पार्टी पंक्तिमा जागरण अभिवृद्धि गर्न । यस क्रममा नेपाली कांग्रेससँग एकीकरण भएको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका विभिन्न तहका साथीहरू एवं अन्य दलबाट प्रवेश गर्नु भएका साथीहरूसँग व्यवहारिक र भावनात्मक समन्वय अभिवृद्धि गर्दै पार्टीलाई सबल बनाउँदै अघि बढ्ने ।

(२) कम्युनिष्ट सरकार बनेको दुई वर्ष समेत नपुग्दै नेपाली समाजमा जे जस्तो असन्तुष्टि, निराशा र वितृष्णाको संकेत देखिएको छ त्यसलाई गम्भीरतापूर्वक लिंदै सामाजिक संवादको माध्यमबाट समस्त जनताको विचार भावना साक्षात्कार गर्न ।

(३) नेपाली कांग्रेसको नेतृत्वमा मुलुकले विगतमा हासिल गरेको राजनैतिक उपलव्धी एवं समृद्धिको दिशामा गरिएका काम नागरिक पंक्तिमा ब्यापक ढंगले सम्प्रेषण गर्न ।

(४) वर्तमान सरकारका अनेक भ्रष्टाचार लगायत विसँगतिपूर्ण जनविरोधि कृयाकलाप बारे सविस्तार विवरण आम नागरिकमा व्यापक ढंगले  प्रष्ट्याउन । (वाइड वडी, न्यारो वडी लगायत नेपाल वायुसेवा निगममा भएका भ्रष्टचार एवं भ्रष्टाचारका अन्य प्रकरणहरू)

(५) नेपाली समाजमा रहेका अनेक फरक मत, संविधान या राज्यप्रणाली बारेकै विमतिहरु समेतलाई राष्ट्रिय एकताको सुत्रमा गाँस्न आवश्यक छलफल र बहष विभिन्न स्तरमा अघि वढाउन ।

(६) जनता, मतदाता र नेपाली कांग्रेस पार्टीको विभिन्न तहको नेतृत्व र सदस्यहरुबीचको सम्बन्धलाई जीवन्त र घनिष्ट बनाउन जनताका अनेक मुद्दामा अग्रसरता लिएर जनताको हितमा पार्टीलाई थप समर्पित गराउन ।

(७) तराई–मधेश लगायत मुलुकको कतिपय भू–भागमा रहेका असन्तुष्टिहरुको समाधान सूत्र विगतमा नेपाली कांग्रेसको नेतृत्वको सरकारले अघि बढाएको संविधान संशोधनको प्रस्ताव नै हो, भन्ने तथ्यलाई आम नागरिकबीचमा प्रस्ट्याउँदै लोकतान्त्रिक संविधानप्रतिको जनविश्वासलाई दिगो बनाउँदै अघि बढ्ने ।
(८) मुलुकको वर्तमान राजनैतिक, सामाजिक, प्रशासनिक एवं कुटनैतिक सम्बन्ध आदि बारे नेपाली बौद्धिक क्षेत्रसँग विशेष अन्तरक्रिया र सैद्धान्तिक सहकार्य अघि बढाउन ।

(९) तिनै तहका सरकारलाई नागरिक हित र मुलुकको समृद्धि सम्वन्धमा निर्वाचनमा मतदातालाई दिलाएको विश्वास बमोजिम कार्य गर्न अपिल गर्दै आवश्यक दबाव बढाउन ।

(१०) नेपाली समाजमा केही समय यता भइरहेका “निर्मला पन्त” प्रकरण झै महिला हिंसाका अनेक घटना र प्रवृतिका विरुद्ध जनचेतना अभिवृद्धि गरी महिला सम्मान र सुरक्षा अभिवृद्धि गर्न÷गराउन ।

(११) नेपाली समाजमा कतिपय ठाउँमा रहेका बोक्सी प्रथा देखि छाउपडि सम्मका अनेकौं सामाजिक विसंगतिको अन्त्यका लागि सार्थक छलफल र पहदकदमी अघि बढाउन ।

(१२) भुकम्प, हावाहुरी, आगलागी, बाढी र अनेक विपदमा भएको धनजनको क्षतिमा प्रभावकारी उद्धार र पुनस्र्थापना अभियानलाई सघाउन तथा यस्तो संभावित विपदमा सर्तकता साथ काम गर्ने “स्वयंसेवी समुह” निर्माणको छलफल प्रारम्भ गर्ने ।

(१३) स्वदेशसँगै विदेशमा रहेका पचास लाखभन्दा बढी नेपालीसँग आफ्नो मातृभूमिमा लोकतन्त्रको रक्षा, संघीयताको सम्बद्र्धन र समृद्धिमा सहभागीताका लागि विशेष संवाद र जागरुकता अभिवृद्धि गर्न तथा तिनको मताधिकार प्रवन्ध गर्न सर्वोच्च अदालतले सरकारलाई गरेको आदेश कार्यान्वयनका लागि दवाव बढाउन तथा वैदेशिक रोजगारीका क्रममा पछिल्लो समय बढेका बेथितीहरु अन्त्यका लागि दबाब बढाउँदै र श्रमिक नेपाली युवाहरुको पीडामा मल्हम लगाउन ।

(१४) कम्युनिष्ट पार्टीको सरकार बनेयता प्रेस स्वतन्त्रता माथि बढेको हस्तक्षेप, अभिव्यक्ति स्वतन्त्रता कुण्ठीत गर्ने अनेक प्रयत्न आदिका विरुद्ध नेपाली प्रेस जगतसंग सहकार्य गर्दै प्रमुख प्रतिपक्षी दलका नाताले प्रेस स्वतन्त्रताको रक्षाका लागि खबरदारी गर्न ।
(१५) नेपाली कांग्रेसमा समाहित हुन चाहनेहरूलाई पार्टीमा स्वागत गर्दै नयाँ सदस्यताको व्यापक वितरण गर्दै पार्टीको विभिन्न तहका लागि आवश्यक प्रशिक्षणको पूर्व तयारी गर्ने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार