संविधान दिवस कार्यक्रममा अनिवार्य उपस्थित हुन ‘उर्दी’

काठमाडौं, २२ भदौ – संविधान दिवस (असोज ३) लाई यसपल्ट सरकारले भव्य बनाउने निधो गरेको छ । आम नागरिकलाई सांस्कृतिक एवं राष्ट्रिय पोसाकमा झन्डासहित र्‍यालीमा सामेल हुन आह्वान मात्र गरेको छैन, तीन दिनसम्म घरघरमा दीपावली गर्न समेत भनेको छ ।

मुलुकमा लोकतन्त्र स्थापनापछि पहिलो पटक सरकारले सरकारी तथा निजी क्षेत्रका कर्मचारीलाई संविधान दिवस कार्यक्रममा अनिवार्य उपस्थित हुन ‘उर्दी’ जारी गरेको हो ।

दिवसका दिन प्रदेश, जिल्ला र स्थानीय तहमा आयोजना हुने समारोहस्थलमा सबै सहभागी हुन सरकारले निर्देश गरेको छ । संविधान दिवस मूल समारोह समितिको निर्णयअनुसार सबै मन्त्रालय र केन्द्रीय कार्यालयले मातहतका निकायहरूलाई यससम्बन्धी सर्कुलर जारी गरिसकेका छन् ।

सबै मन्त्रालय र केन्द्रीय निकायले आ–आफूसँग सरोकार राख्नेनिजी क्षेत्रका उद्योग व्यवसाय, सामुदायिक तथा निजी विद्यालय, स्वास्थ्य संस्था र गैरसरकारी संघसंस्था र तिनका कर्मचारीलाई संविधान दिवसका कार्यक्रममा औपचारिक पोसाक र राष्ट्रिय झन्डासहित सहभागी हुन भनेका छन् ।

त्यसका लागि गृह मन्त्रालयले राष्ट्रिय झन्डा अंकित टिसर्टका ४ नमुना तयार पारी आफ्नो वेबसाइटमा राखेको छ । जस अनुसार सबै सहभागीले बायाँ छातीमाथि झन्डा पर्ने गरी बनाइएको टिसर्ट लगाउनुपर्नेछ ।

संविधान दिवसका दिन फहराउने झन्डाको साइज पनि तोकिएको छ । सरकारी, निजी तथा सार्वजनिक यातायातका सवारीमा समेत झन्डा फहराउन परिपत्र गरिएको छ । असोज २, ३ र ४ गते साँझ हरेक घरघरमा दीपावली गर्न र झन्डा फहराउन भनिएको छ ।

मठमन्दिर, चर्च, मस्जिद, बौद्ध बिहार, गुरुद्वारामा राष्ट्र, राष्ट्रियता र संविधानका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूको आत्मशान्तिका लागि पूजापाठ र प्रार्थना गर्न समितिलेआह्वान गरेको छ ।

संविधान दिवसका दिनदेखि मुलुकभर सबै सिनेमा हलमा फिल्म सुरु हुनुअगाडि अनिवार्य राष्ट्रिय झन्डा फहराउन र राष्ट्रिय गान बजाउन यसअघि नै निर्देशन दिइसकिएको छ ।

सरकारी, निजी तथा गैरसरकारी क्षेत्रका कर्मचारीलाई अनिवार्य उपस्थित हुन उर्दी जारी गर्नु र घरघरमा झन्डा फहराएर दीपावली गर भन्नु उचित नरहेको एक पूर्वसचिवले बताए । आमजनताले संविधान दिवस कसरी मनाउने भन्ने सरकारले लाद्ने विषयहोइन, उनले भने, उर्दी नै जारी गरेर ठूलो भीड देखाउनु लोकतान्त्रिक चरित्र होइन ।

सरकारले संविधान दिवसका कार्यक्रममा आफ्ना कर्मचारीलाई अनिवार्य उपस्थित होऊ भन्नुलाई अन्यथा भन्न नमिल्ने पूर्वगृहसचिव गोविन्द कुसुमले बताए ।

तर निजी क्षेत्र, गैरसरकारी क्षेत्र, सामुदायिक तथा निजी स्कुलका विद्यार्थीलगायतलाई सहभागी हुन उर्दी लगाउनुलाई भने लोकतन्त्रमा उपयुक्त मान्न नसकिने उनको टिप्पणी छ । गृह मन्त्रालयका सहसचिव रामप्रसाद आचार्यले भने संविधान दिवसलाई राष्ट्रिय उत्सवका रूपमा मनाउन निजी क्षेत्रसहित सबैलाईआह्वान गरिएको बताए ।

मुलुकभरका स्थानीय तह, निजी क्षेत्र, गैरसरकारी संघसंस्थाबाट राष्ट्रिय झन्डा अंकित टिसर्ट लगाएर कार्यक्रममा सहभागी हुन आह्वान गरिएको उनले प्रस्ट्याए । सवारीसाधनमा झन्डा फहराउनसमेत भनिएको उनले बताए ।

सरकारी कर्मचारीलाई अनिवार्य उपस्थित हुन सूचित गरिएको छ, उनले भने, तर, अरूलाई यसमा अनिवार्य गरिएको छैन । संविधान दिवसलाई झन्डामय बनाउन सबैलाई झन्डासहित सहभागी हुन आह्वान गरिएको उनले जानकारी दिए । – कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार