काठमाडौं, २३ भदाै – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा.शेरबहादुर पुनलाई बिरामी जाँच्न भ्याइनभ्याइ छ । भन्छन्, ‘खाना खान पनि फुर्सद छैन ।’ उनी बिहान ९ बजे अस्पताल पुग्छन् । डेंगुको शंका गर्दै जाँच गर्न आएका बिरामीको लाइन हुन्छ । उपचारमा संलग्न चिकित्सक पानी पिउनै नपाई जाँच्न व्यस्त हुन्छन् । ‘बिरामीलाई सोध्ने र उनीहरूका जिज्ञासा समाधान गर्दा नै मुख प्याकप्याक हुन्छ’, अर्का चिकित्सक भन्छन् ।
भीडभाडले अस्पतालमा जात्रा लागेझैं देखिन्छ । ठेलमठेल हुन्छ । बिरामीको अनुहार निन्याउरो देखिन्छ । उनीहरूका आफन्त आक्रोशित भेटिन्छन् । अस्पतालनजिकै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टिकट काउन्टरमा पनि यस्तै दृश्य देखिन्छ । डेंगुको आशंकामा रगत जँचाउने र रिपोर्ट लिनेको लाइन बिहानदेखि लागेको हुन्छ ।
‘बिहान ६ बजेदेखि साँझसम्म रगत जँचाउने र रिपोर्ट लिनेको भीड लाग्छ’, प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ता भन्छन् । शंकास्पद बिरामीलाई शुक्रराज ट्रपिकल अस्पतालमा रेफर गर्न साध्य नभएपछि वीर अस्पतालले शुक्रबारदेखि डेंगु परीक्षण थालेको छ । वीरका निर्देशक डा. केदार सेन्चुरी भन्छन्, ‘बिरामीलाई रेफर गर्दा रिपोर्ट आउन ढिलो हुने भएपछि यतै (वीरमा) परीक्षण गर्न थाल्यौं ।’
शुक्रराज अस्पतालमा डेंगुका बिरामीको उपचार निःशुल्क हुने घोषणापछि चाप बढेको हो । अस्पतालमा गत वैशाख र जेठमा एक/एक जना संक्रमित उपचार गर्न आएका थिए । असारमा ९ र साउनमा २३ जना उपचार गरी फर्किएको अस्पतालले जनाएको छ । भदौमा ४४ महिला र ४१ पुरुष उपचारपछि फर्किए । जँचाउन आउनेको संख्या बढेको छ ।
डेंगुबाट संक्रमित भई सार्वजनिक र निजी अस्पताल जानेहरू बढेका छन् । सरकारसँग यकिन तथ्यांक भने छैन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण शाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा. प्रकाश शाहका अनुसार ४८ जिल्लामा डेंगु संक्रमण भएको पाइएको छ । ७ हजार ३ सय १५ जनाको रगत परीक्षण गर्दा डेंगु पोजेटिभ देखिएको डा. शाह बताउँछन् । – अन्नपूर्ण पाेष्ट दैनिक