नेकपाकाे दल दर्ता गर्ने जिम्मेवारी महासचिव पाैडेललाई

काठमाडौं, २६ भदाै – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकले दल दर्ता जिम्मेवारी महासचिव विष्णु पौडेललाई दिने निर्णयसमेत गरेको छ ।

आगामी १४ मंसिरमा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले भदौ मसान्तसम्म दल दर्ता गर्ने समयावधि तोकेपछि नेकपाले दल दर्ता निर्णय गरेकोप्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

२०७४ सालमा निर्वाचन हुँदा बेग्लाबेग्लै दल रहेकाले नेकपाले उपनिर्वाचनका लागि दर्ता गर्नुपरेको हो ।नेकपाको ६ महानगरपालिका, प्रवास कमिटी र आयोग टुंगो लगाउन बाँकी छ । नेकपानेताबीच भएको अनौपचारिक सहमतिअनुसार ६ महानगरमध्ये काठमाडौं, विराटनगर, पोखरा, भरतपुर पूर्वएमाले तथा ललितपुर र वीरगन्ज महानगरपालिकाको नेतृत्व पूर्वमाओवादीको भागमापर्ने सम्भावना छ ।

यसैगरी, प्रवास कमिटी इन्चार्ज केन्द्रीय सदस्य विन्दा पाण्डे र सहइन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्यद्वय युवराज कार्की र युवराज चौलागाईंलाई दिने तयारी गरिएको छ । नेकपा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग र केन्द्रीय निर्वाचन आयोग नेतृत्व पनि टुंगो लाग्न बाँकी छ ।

प्रधानमन्त्री ओली सिंगापुरमा उपचार गरेर फर्किएपछि पहिलोपटक नेकपा सचिवालय बैठक बसेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार