तरुण दलमा बिवाद, कांग्रेस नेतृत्व गम्भिर ?

काठमाडौं —  नेपाल तरुण दलका अध्यक्ष र महासचिवको विज्ञप्ती युद्धले तरुण दलमा तरंग ल्याएकाे छ । महासचीव भुपेन्द्रजंग शाहीले भदौ २४ गते निकालेको वक्तव्यपछि सुरुभएको वक्तव्य युद्ध भदौ २५ गते अध्यक्ष जीतजंग बस्नेतले निकालेको सूचना र सोको जवाफमा महासचिव शाहीले जारी गरेको वक्तव्यसम्म आइपुग्दा थप बिवाद भएको छ ।

महासचिव शाहीले भदौ २४ गते नेपाल तरुण दल सिन्धुपालचोकका उपाध्यक्ष सगुन श्रेष्ठलाई कार्वाही फुकुवा गरेको परिपत्र गरेका थिए । उनले सप्तरीका सीता प्रसाद यादवलाई अधिवेशन गर्नेसम्मको म्याण्डेट दिएर  जिल्ला अध्यक्षमा  मनोनित गरेको पत्र पठाएका थिए ।

नेपाली कांग्रेसले भदौ २४ गतेबाटै सुरु गरेको जनजागरण अभियानलाई नौटंकीको संज्ञा दिदै भ्रष्टाचार बिरोधी अभियान सुरु गर्न परिपत्र गरेका शाहीले राजनैतिक लडाइ लड्ने मनशायले नै अध्यक्ष बस्नेतसँगको दुरी बढाउन खोजेको देखिएको छ । यस क्रममा उनले अध्यक्ष बस्नेतसँग मात्रै मोर्चा खोलेका छैनन्, सिंगो पार्टी नेतृत्वलाई नै ललकारेका छन् ।

अध्यक्षले भदौ २० गते आफुलाई जानकारी समेत नदिइ परिपत्र जारी गरेपछि रुष्ट रहेका महासचिव शाहीले तीनवटा परिपत्र जारी गरेपछि भदौ २५ मा अध्यक्ष बस्नेतले  पदीय जिम्मेवारी, मर्यादा र सिमा समेतको बारेमा महासचिवलाई सचेत गराउदै उनले गरेका परिपत्र र दिइएका जिम्मेवारी खारेज गरे । तर बस्नेतको यो कदमको शाहीले तीन घण्टा नबित्दै पत्र मार्फत प्रतिवाद गरे । एकलौटी विधान विपरित अध्यक्षले गरेका सबै निर्णयहरु खारेज भएको जनाउदै शाहीले तरुण दलको हवला दिएर कुनै पनि अवैधानिक निर्णयको अधिकार नभएको समेत प्रष्टाएका छन् ।

कार्यकाल सकिन दुई महिना मात्र रहदा समेत चार जना पदाधिकारीमा सिमित तरुण दल पार्टी नेतृत्वको अकर्मण्यताका कारण निस्क्रिय प्राय छ । नेतृत्व तहमा पुग्ने आकांक्षिहरु काम गर्न नपाएर खुम्चिएको अवस्था छ । यस्तो बेलामा छताछुल्ल भएको तरुण दलको वक्तव्य युद्धलाई जुंगाको लडाइको रुपमा समेत हेरिएको छ । यद्यपि यो विवादले तरुण दल तथा कांग्रेसकै साखलाई भने कमजोर बनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले तरुणदलमा देखिएको बिबादलाई  नजिकबाट नियाली रहेको बताए । शर्माले भने,’पार्टी र पार्टी नेतृत्व देशभर जागरण अभियानमा सक्रिय भइरहदा तरुण दलका महासचिवले त्यसलाई नौटंकीको सज्ञा दिनु अनुशासनको गम्भिर उलंघन हो । भातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन गर्ने कार्यसमितिलाई पूर्णता दिने बिषयमा पार्टी केन्द्रीय समितिको बैठकले निर्णय गरि दिइएको जिम्मेवारी अनुसार काम भइरहेको बेला तरुण दलको यो विवाद वेमौसमको बाजा जस्तो भएको छ ।  तरुण दलका अरु बिषयहरुमा भने पार्टी नेतृत्वले अध्यक्ष महासचिवलाई बोलाएर छलफल गर्छ ।’

स्रोतका अनुसार चार जना पदाधिकारीमा सिमित तरुण दल केन्द्रीय समितिको विस्तार नेविसंघ तदर्थ समिति गठन लगायतका काम यहि भदौ भित्र सक्ने तयारी छ । अन्य भातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशन सम्बन्धित संस्थाले तोकिएको समयमा वा बढिमा ६ महिनाभित्र गराउने गरि एनपी साउद नेतृत्वको समिति कृयाशिल रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार