मनपरि प्रचारमा किन छुट ?, हर्लिक्स व्यापारीका बच्चा फस्ट !

  डा. अरूणा उप्रेती

काठमाडौं, २ असाेज — ‘३० वर्षको उमेर पुगेपछि हड्डी कमजोर हुँदै जान्छ, त्यसैले हर्लिक्स खानुपर्छ, यसले शरीरमा क्यालोरी दिन्छ’ भन्ने भ्रामक विज्ञापन नेपाली टेलिभिजनहरूमा प्रसारण भएको देखिन्छ।

यस्तै हर्लिक्स, बनभिटा आदिको अर्को विज्ञापनमा चाहिँ यी वस्तु खाँदा बच्चाहरू फूर्तिलो, अग्लो, बुद्धिवान् हुन्छन् भनेर प्रसारण–प्रकाशन भएको देखिन्छ। यी विज्ञापन भ्रामक भए पनि बारम्बार प्रसारण हुने हुनाले आममानिसले विश्वास गर्छन्।

हर्लिक्सको वर्गमा पर्ने भिभा, बनभिटा, कम्प्लान आदि जौ, गहुँ, दूध, चिनी आदिबाट बनेका हुन्छन्। बिक्रीका लागि सञ्चारमाध्यममा बढाईचढाई गरी विज्ञापन गरिन्छ भन्ने विचार प्रायः कसैले गर्दैनन्। आममानिसको ‘सेन्टिमेन्ट क्याच’ गर्न यस्ता खानेकुराको विज्ञापनमा ‘सेलिब्रेटी’ को प्रयोग गरिएको हुन्छ।

फिल्मी कलाकार, खेलाडी आदिले ‘यो खानेकुरा पौष्टिक छ, यो खाँदा बुद्धि बढ्छ, हड्डी बलियो बनाउँछ, उचाइ बढ्छ’ भनेपछि सर्वसाधारण ‘हो त नि’ भन्ने ठान्छन्। फाइदा नहुने भए त्यत्रा फिल्मी कलाकार, डाक्टरले किन बयान गर्थे भन्ने सोचेका हुन्छन्।

‘एउटै कुरा बारम्बार भनेपछि झूटो पनि सत्य हुन्छ’ भन्ने मानसिकता विज्ञापनदाताको हुन्छ र उपभोक्ता फन्दामा पर्छन्। कतिपय मानिसले त स्वास्थ्यकर्मीले पनि खाऊ भन्छन् भन्ने बुझेका छन्।

कुनै ठाउँमा हर्लिक्सको व्यापारीका छोराछोरीले नै पढाइमा टपेको, खेलमा जितेको भन्ने समाचार मैले त अहिलेसम्म सुनेकी छैन। बरु उनीहरूलाई चिनी मिसिएका यस्ता खानेकुरा धेरै खुवाएमा भविष्यमा स्वास्थ्यमा हानि पुग्न सक्छ।

तर, मलाई पूर्ण विश्वास छ, स्वास्थ्यकर्मीले यस्तो गलत कुरा भन्दैनन्। विज्ञापनमा स्वास्थ्यकर्मीको रूपधारण गरेका मोडलहरूले मात्र यो कुरा भनिरहेका हुन्छन्। त्यस्ता मोडललाई प्रायः आफूले बोलेका कुरा ठीक वा बेठीक भन्नेबारे मतलव पनि हुँदैन। उनीहरूलाई पारिश्रमिकको मात्र मतलव हुन्छ।

मनपरि प्रचारमा किन छुट ?

हर्लिक्स कम्पनीले बेलायत, अमेरिका जस्ता विकसित राष्ट्रमा यस किसिमको प्रचार गर्न पाउँदैन। ती राष्ट्रमा नीति नियम कडा भएकाले गलत कुरा प्रचार गर्न दिँदैनन्।

हाम्रो देशमा पनि त्यस किसिमका कानुन, नियमहरू भए पनि कार्यान्वयन फितलो भएका कारण जसले जे बोल्न, जे प्रचार गर्न पनि छुट पाएको देखिन्छ। यसले गर्दा सर्वसाधारण उपभोक्ता भ्रममा परेका तथा ठगिएका छन्।

सञ्चारमाध्यममा ‘१० जनामध्ये ९ जना बच्चा कुपोषणको शिकार भएका हुन्छन्, उनीहरूलाई स्वस्थ बनाउन हर्लिक्स दिनुपर्छ’ भन्ने आशयको गलत विज्ञापन सेतो कोट लगाएर डाक्टरको रूप बनाएको मानिसले भनेको सुनेपछि मानिस यसको विश्वासमा पर्छन्। –  नेपाल समाचारपत्र

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार