काठमाडौं, ३ असाेज — सरकारले संविधान दिवसको अवसरमा शुक्रबार दुई सय ८२ जना कैदीबन्दीलाई माफी दिने भएको छ ।
मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले संविधानको धारा २ सय ७६ अनुसार भीमबहादुर शेर्पासमेत दुई सय ८२ जनाको कैद माफीका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको जानकारी दिए ।
संविधान दिवसका अवसरमा भारत, अमेरिका र स्विट्जरल्यान्डका राष्ट्रपतिले नेपाल सरकार र नेपाली जनतामा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
भारतका राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज एक शुभकामना सन्देश पठाउँदै राष्ट्रपति स्वयम् र भारत तथा त्यहाँका जनताका तर्फबाट संविधान दिवसको शुभकामना व्यक्त गर्नुभएको छ । सन्देशमा राष्ट्रपति कोविन्दले नेपाल र भारत साझा भूगोलले मात्र नभई इतिहास, सभ्यता, संस्कृति र जनता जनताबीचको सम्पर्कले जोडिएका बताउनुभएको छ । भारत र नेपालबीचको साझेदारी विभिन्न क्षेत्रमा निरन्तर विस्तार भइरहेको बताउँदै भारतका राष्ट्रपतिले सन्देशमा नेपालको समृद्धि र विकासका लागि अविच्छिन्न सहयोग अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नेपालको भ्रमण गर्न आफूलाई राष्ट्रपति भण्डारीबाट प्राप्त निमन्त्रणाप्रति आभार व्यक्त गर्दै उहाँले दुई देशीबीच उच्चस्तरमा आदानप्रदान हुने भ्रमणले एकअर्काप्रति हाम्रो साझेदारीका प्राथमिकता प्रतिबिम्बित हुन्छन् भन्नुभएको छ । दुवै देशलाई उपयुक्त हुने समयमा नेपालको भ्रमण गर्न आफू प्रतीक्षारत रहेको बताउँदै भारतका राष्ट्रपतिले सन्देशमा राष्ट्रपति भण्डारीको सुख, सुस्वास्थ्यका साथै मित्रवत् नेपाली जनताको निरन्तर समृद्धि र प्रगतिको कामना गर्नुभएको छ ।
यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले संविधान दिवसको शुभकामना व्यक्त गर्दै अमेरिका र नेपालबीचको सात दशक पुरानो सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।
स्वतन्त्र एवम सार्वभौम नेपालको विकास तथा सबै नेपाली नागरिकको समृद्धिका निम्ति अमेरिका सहयोग गर्न दृढ रहेको बताउँदै राष्ट्रपति ट्रम्पले प्राथमिकताका साझा क्षेत्रमा दुई देशबीचको साझेदारी रहने विश्वास व्यक्त गर्नुभएको छ ।
त्यसैगरी संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै स्विस महासङ्घका राष्ट्रपति विली माउररले स्विस सङ्घीय परिषद् र स्विटजरल्यान्डका जनताका तर्फबाट नेपाल, नेपाली जनता र राष्ट्रपति भण्डारीसमेतको समुज्ज्वल भविष्यको कामना गर्नुभएको छ । नेपालसँग सुदृढ सम्बन्ध कायम गर्न आफ्नो देश प्रतिबद्ध रहेको बताउँदै सन्देशमा स्विस राष्ट्रपतिले आपसी मैत्री अझ मजबुद हुने विश्वास व्यक्त गर्नुभएको छ ।
बेग्लाबेग्लै शुभकामना सन्देश
संविधान दिवसका अवसरमा विभिन्न देशका राष्ट्राध्यक्षहरुले नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बेग्लाबेग्लै शुभकामना सन्देश पठाउँदै नेपाल सरकार, नेपाली जनताका साथै राष्ट्रपति भण्डारीको सुख, सुस्वास्थ्य र समृद्धिको कामना गर्नुभएको छ ।
संयुक्त अधिराज्यकी महारानी एलिजाबेथ द्वितीया, थाइल्यान्डका नरेश महा वजिरलोङकर्न फ्रा वजिरक्लाओचाओयुहुआ, फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रो, प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राष्ट्रपति चो रोङ हे, अरब गणतन्त्र, इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसी र म्यान्माका राष्ट्रपति विनमिन्टले राष्ट्रपति भण्डारीलाई बेग्लाबेग्लै शुभकामना सन्देश पठाएर हार्दिक बधाई ज्ञापन गर्नुभएको हो ।