काठमाडौं, ४ असाेज — राष्ट्रपति विद्यादेवी भण्डारीले सबै दलको एकता र सहकार्यबाट बनेको संविधान सफल रूपमा कार्यान्वयनको बाटोबाट अघि बढिरहेको बताएकी छन् । राजधानीमा गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति प्रतिष्ठानले संविधान दिवसका अवसरमा शुक्रबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले संविधान सफलताका साथ कार्यान्वयनको बाटोमा अघि बढिरहेको जनाएकी हुन् ।
‘सबै दलको एकता र सहकार्यबाट लामो संघर्षपछि बनेको संविधान हाल सफलताका साथ कार्यान्वयनको अवस्थामा छ,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘अब आर्थिक समृद्धि हासिल गर्ने साझा संकल्प पूरा गर्न सबै राजनीतिक दलहरू एकजुट भएर अगाडि बढ्नुपर्छ ।’
पूर्वप्रधानमन्त्री कोइरालालाई ‘जनआन्दोलन स्वर्णपदक’
कार्यक्रममा राष्ट्रपति भण्डारीले पूर्वप्रधानमन्त्री एवं तत्कालीन नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई मरणोपरान्त ‘गणेशमानसिंह जनआन्दोलन स्वर्ण पदक’बाट सम्मान गरेको छ ।
उनले कोइरालाका भाई अशोक कोइरालालाई सो सम्मान प्रदान गर्दै नेपालको लोकतान्त्रिक आन्दोलन र संविधान निर्माणमा पु¥याएको योगदानको समेत चर्चा गरिन् ।
उत्कृष्ट संविधान : देउवा
कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले लामो संघर्षपछि प्राप्त वर्तमान संविधान विश्वमा नै उत्कृष्ट र बहुलवादमा आधारित रहेको जनाए । ‘नेपालको संविधान बहुलवाद र समावेशितामा आधारित छ, संविधान उत्कृष्ट बनायौं,’ देउवाले भने । उनले संविधानको कार्यान्वयनका क्रममा भने सरकारबाटै संविधानको खिलाफमा काम भइरहेको जनाए । ‘संविधान कार्यान्वयनको अवस्थामा सरकारबाट खिलाफमा काम भइरहेको छ, प्रेसमाथि अंकुश लगाउने काम हुँदै छ, मानव अधिकारलाई लंगडो बनाउन खोजिँदै छ, कांग्रेसलाई त्यो मान्य हुँदैन’, कांग्रेस सभापति देउवाले सम्बोधनका क्रममा भने ।
उनले सरकारले संविधानको भावनाविपरीत ल्याएको कुनै पनि विधेयक मान्य नहुने चेतावनीसमेत दिए । कांग्रेस स्थापनाकालदेखि नै प्रेस स्वतन्त्रता, मानवअधिकार, अभिव्यक्ति स्वतन्त्रताको पक्षमा लड्दै आएको बताउँदै त्यसविपरीतका गतिविधि भए कांग्रेसलाई कदापि मान्य नहुने देउवाको चेतावनी थियो ।
जनतालाई विश्वासमा लिएर संसोधन : नेम्वाङ
कार्यक्रममा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधान निर्माणमा सबै राजनीतिक दलहरूको योगदान रहेको भन्दै संविधानमा असन्तुष्टि भए जनतालाई विश्वासमा लिएर संसोधन गर्दै अघि बढ्न सकिने स्पष्ट पारे ।‘सबै दलको सहभागिताबाट संविधान जारी भयो, अब जनतालाई विश्वासमा लिएर संविधानलाई संसोधन गर्दै अघि बढ्न सकिन्छ,’ नेम्वाङले भने ।
जनतालाई उपलब्धि दिनुपर्छ : सिटौला
कार्यक्रममा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले संविधानभित्रैबाट प्राप्त उपलब्धिलाई संरक्षण गर्दै जनतालाई उपलब्धि दिनुपर्ने बताए । संविधान जारी गर्दाका बखत संविधान मस्यौदा समितिका संयोजकसमेत रहेका सिटौलाले संविधानको कार्यान्वयनमा सबैभन्दा महŒवपूर्ण भूमिका सरकारकै हुने भन्दै समयअनुसार जनताको चाहनालाई संविधान भित्रैबाट पूरा गर्दै संविधान संसोधन गरेर अघि बढ्न सुझाए ।
संविधानको वनरसिप कांग्रेस र नेकपा : प्रधान
प्रतिष्ठानका अध्यक्ष भीमसेनदास प्रधानले संविधानको वनरसिप कांग्रेस र सत्तारूढ दल नेकपाले नै लिनुपर्ने बताए । उनले दुवै दलको सहकार्यबाट संघ, प्रदेश र स्थानीय तहलाई समन्वयका साथ प्रभावकारी रूपमा अघि बढाउन सकिने र त्यसो गर्दा मात्रै संविधानले सही बाटो प्राप्त गर्ने जनाए । – राजधानी दैनिक