काठमाडौँ, ५ असाेज — यस वर्षको दशैँ, तिहार, छठलगायतका चाडपर्वको अवसरमा मुलुकभर नै सवारी साधनहरूको रुट इजाजत खुला हुने भएको छ । सीमित रुट इजाजत पाएका सवारी धनीले यस वर्षको चाडपर्वमा मुलुकभर आफ्नो सवारी साधन चलाउन पाउने भएका छन् ।
चाडपर्वका अवसरमा बिनारोकटोक र झन्झटबिना सवारी धनीले आफ्नो सवारी साधन मुलुकका जुनसुकै कुनामा पनि गुडाउन पाउने र चाडपर्वको आनन्द लिऊन् भन्ने उद्देश्यसहित दशैँ, तिहार र छठको समयमा मुलुकभर सवारी साधनहरूको रुट इजाजत खुला गरिने यातायात व्यवस्था विभागले जनाएको छ ।
विभागका महानिर्देशक गोगनबहादुर हमालले यो वर्ष चाडपर्वको समयमा सवारी साधनको रुट इजाजत खुला गरिनेबारे गृहकार्य भइरहेको जानकारी दिनुभयो । उहाँले दशैँ, तिहार गरी एक महिनासम्म सवारी साधनलाई मुलुकभर रुट इजाजत खुला गरिने जानकारी दिनुभयो । सरकारको यो निर्णयसँगै एउटा रुट अनुमति पाएको सवारी साधनले बिनारोकटोक र अवरोध मुलुकका जुनसुकै रुटमा चलाउन पाउने छन् ।
सवारी साधनको अग्रिम टिकट बुकिङ असोज ५ देखि खुला गरिएको जानकारीसमेत महानिर्देशक हमालले दिनुभयो । चाडपर्वमा काठमाडौँबाट मुलुकका विभिन्न गन्तव्यतर्फ जाने यात्रुको सङ्ख्या अन्य समयको भन्दा अत्यधिक हुने गरेकाले चाडपर्वको समयमा हरेक वर्ष अग्रिम टिकट बुकिङ खुलाउने गरिन्छ ।
नागरिक सहायता कक्ष
चाडपर्वको समयमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने यात्रुको चाप अरू बेलाभन्दा बढी हुने भएकाले त्यसको व्यवस्थापनका लागि उपत्यकाका १४ स्थानमा ‘नागरिक सहायता कक्ष’ सञ्चालनमा ल्याइएको जानकारी महानिर्देशक हमालले दिनुभयो । नागरिक सहायता कक्ष असोज ५ देखि सञ्चालनमा आएको हो । ‘नागरिक सहायता कक्ष’ले बढी भाडा लिएको, टिकटअनुसार सिट पाउन नसकेको लगायतका समस्याको तत्काल अनुगमन गरी समाधान गर्ने उहाँले बताउनुभयो ।
बन्यो अनुगमन समिति
त्यसैगरी चाडपर्वको समयमा यातायात क्षेत्रमा हुने गरेका समस्याको समाधानका लागि यातायात व्यवस्था विभागको महानिर्देशकको संयोजकत्वमा केन्द्रीय यातायात व्यवस्थापन अनुगमन समिति गठन गरिएको छ । यो समितिमा ट्राफिक प्रहरी, यातायात व्यवसायी समितिका प्रतिनिधिसहितको अनुगमन समिति निर्माण गरिएको जानकारीसमेत उहाँले दिनुभयो । केन्द्रीय यातायात व्यवस्थापन अनुगमन समितिका साथै छवटा अनुगमन समितिसमेत निर्माण गरिएको छ । — गोरखापत्र दैनिक