परराष्ट्रमन्त्री न्युयोर्क प्रस्थान यस्ता छन् नेपालका कार्यसूची

काठमाडौँ, ५ असोज — परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभामा भाग लिन शनिबार न्युयोर्क प्रस्थान गर्नुभएको छ ।

महासभामा मन्त्री ज्ञवालीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतकुमार राई, परराष्ट्र मन्त्रालयस्थित संयुक्त राष्ट्रसङ्घ महाशाखा प्रमुख तथा मन्त्रालयका प्रवक्ता भरतराज पौडेल तथा न्युयोर्कस्थित नेपालका स्थायी नियोगका पदाधिकारीले साथ दिनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

महासभामा असोज ७ देखि विविध मुद्दामा छलफल सुरु हुँदैछ । तिनमा गरिबी निवारण, गुणस्तरीय शिक्षा, जलवायु परिवर्तनको असर तथा समावेशिताका लागि बहुपक्षीय प्रयास विषयक छलफलमा नेपालले पहिलो सहभागिता जनाउने मन्त्रालयले बताएको छ । नेपालका तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीले आफ्नो उपलब्धि तथा भोगिरहेका समस्याको समाधानको विकल्प खोज्ने प्रयास गर्नुहुने छ । महासभामा नेपालको तर्फबाट हुने सम्बोधन भने मन्त्री ज्ञवालीले असोज १३ गते गर्नुहुने कार्यसूची रहेको छ ।

त्यसअघि असोज ९ गते मन्त्री ज्ञवालीले सार्क मन्त्रिपरिषद्को अनौपचारिक सत्रको अध्यक्षता गर्नुहुने कार्यक्रम छ । महासभाका लागि मन्त्री ज्ञवाली न्युयोर्कमा रहँदा जलवायु परिवर्तनको असरसम्बन्धी सम्मेलन, दिगो विकास र संयुक्त राष्ट्रसङ्घीय उच्चस्तरीय छलफलका क्रममा राष्ट्रसङ्घको उच्च राजनीतिक फोरममा विकासमा लगानीसम्बन्धी विषयमा उहाँले बहस गर्नुहुने छ ।

उहाँले असंलग्न आन्दोलनअन्तर्गत जी ७७ र चीनको छुट्टै मन्त्रीस्तरीय बैठकमा समेत सहभागिता जनाउनुहुने छ । त्यसैगरी अतिकम विकसित तथा भूपरिवेष्टित मुलुकको मन्त्रीस्तरीय बैठकमा नेपालका तर्फबाट आफ्ना धारणा राख्नुहुने छ । उहाँले एसियाली सहयोग संवादको बैठकमा नेपालको विकासमा साझेदारीका लागि पहल गर्नुहुने छ ।

मन्त्री ज्ञवालीले संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय मैत्रीपूर्ण मध्यस्थकर्ताको बैठक, उच्चस्तरीय शान्ति प्रक्रियाको संवाद, बालअधिकार महासन्धिसम्बन्धी कार्यक्रम तथा राष्ट्रसङ्घको महासभाका अध्यक्षले आयोजना गर्नुभएका अन्य विविध समारोहमा सरिक हुने कार्यक्रम छ । न्युयोर्कमा रहँदा उहाँले असोज ७ गते राष्ट्रसङ्घ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गर्नुहुने स्वागत समारोहमा भाग लिनुहुने छ । त्यस्तै विभिन्न द्विपक्षीय सम्बन्ध भएका मुलुकका प्रतिनिधिसँग छलफल गर्नुहुने छ ।

उहाँले असोज ९ गते र १० गते अमेरिकाको न्युयोर्क र सिकागोमा रहेका नेपाली समुदायसँग परामर्श गरी देश विकासका लागि योगदान गर्न आग्रह गर्नुहुने कार्यक्रम छ । उहाँ असोज १४ गते नेपाल फर्कने कार्यक्रम रहेको मन्त्री ज्ञवालीका प्रेस सल्लाहकार सुदन ज्ञवालीले जानकारी दिनुभयो ।

शान्ति स्थापना, जलवायु परिवर्तन र विकासमा जोड दिइने
महासभामा भाग लिन जानुअघि गोरखापत्रसँगको कुराकानीमा मन्त्री ज्ञवालीले नेपालले विश्वको शान्ति प्रक्रियामा पु¥याउन सक्ने योगदान, जलवायु परिवर्तनको असर कम गर्न नेपालको योगदान र भावी रणनीति तथा विकासका लागि आवश्यक साझेदारीमा जोड दिने बताउनुभयो ।

उहाँले केही विशेष विषय र सन्दर्भलाई नेपालले जोड दिन चाहेको बताउनुभयो । “पहिलो बहुपक्षीय सहकार्यलाई कसरी अझ बढी जोड दिन सकिन्छ, देखिएका समस्याको समाधान गर्न सकिन्छ भन्नेमा ध्यान दिनेछौँ”, मन्त्री ज्ञवालीले थप्नुभयो, “जसमा फराकिलो साझेदारीलाई हामी कसरी अघि बढाउने भन्नेमा केन्द्रित हुनेछौँ । ” त्यसैगरी दोस्रोमा शान्ति स्थापनामा जोड दिइने छ ।

नेपालको तर्फबाट संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा गरिने योगदानलाई वृद्धि गर्न महासभामा थप प्रतिबद्धता व्यक्त गर्ने ज्ञवालीले बताउनुभयो । विश्वका विभिन्न देशका व्याप्त अशान्ति हटाउन राष्ट्रसङ्घको थप आवश्यकता पूरा गर्न नेपाल तयार रहेको उहाँले प्रस्ट्याउनुभयो ।

तेस्रो मुद्दाका रूपमा संयुक्त राष्ट्रसङ्घको सुधार गर्नमा नेपालले भूमिका खेल्ने छ । “खास गरेर विकासका मुद्दामा अझ जोड दिने नेपालको धारणा राख्ने छ’’, उहाँले थप्नुभयो, “विकासबिना सुरक्षा पनि हुँदैन, शान्ति पनि हुँदैन र मानव अधिकारको सुनिश्चितता पनि गर्न सकिँदैन । ” उहाँले यी तीनवटै स्तम्भमा सन्तुलन गर्ने कुरामा महासभामा नेपालको कोसिस रहने जनाउनुभयो । नेपालमा दिगो विकासको लक्ष्य प्राप्त गर्न गरिबी निवारण, स्वास्थ्य सेवामा सुधार, दीर्घकालीन विकास नीतिको कार्यान्वयन तथा आर्थिक वृद्धिसँगै नेपालीको जीवनशैलीको स्तरोन्नति गर्न आवश्यक सहकार्यका लागि उहाँले आफ्नो सम्बोधनमार्फत अपिल गर्नुहुने छ ।

अन्तर्राष्ट्रिय रूपमा मौलाउँदै गएको अतिवाद र अपराध विश्वमै चिन्ताको विषय बनेको अैाल्याउँदै मन्त्री ज्ञवालीले त्यसप्रति एउटा एकीकृत सोच राख्नुपर्ने विषय महासभाको अर्को मुद्दा भएको बताउनुभयो । जुनसुकै स्वरूप अथवा जुनसुकै अभिव्यक्तिमा आए पनि आतङ्कवादविरुद्ध सिङ्गो मानवता उभिनुपर्नेमा जोड दिइने छ । यसले कुनै खालको प्रश्रय पाउनुहुन्न भन्ने नेपालको अपिल महासभामा हुने मन्त्री ज्ञवालीले स्पष्ट पार्नुभयो । “नेपालले हासिल गरेका उपलब्धि पनि महासभामा साट्ने छौँ”, ज्ञवालीले थप्नुभयो, “हरेक द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने सम्बन्धमा पनि मेरो प्रयास हुने छ । ”

उहाँले विश्व विकासले निम्त्याएको प्रदूषणका कारण वातावरणमा परेको नकारात्मक प्रभाव तथा त्यसका कारण निम्तिएको जलवायु परिवर्तनको असरबाट बच्न विश्व साझेदारीमा पहल गर्न नेपालले आउँदो अप्रिलमा आयोजना गर्न लागेको सगरमाथा संवादमा सहभागी हुन विभिन्न मुलुकलाई आह्वान गर्नुहुने छ । त्यसका लागि आवश्यक पहल गर्न राष्ट्रसङ्घस्थित विभिन्न निकायको बैठकमा समेत उहाँले चर्चा गर्नुहुने छ । — गाेर्खापत्र दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार