बाख्रा चराउन गएकी दुई बालिकाको पोखरीमा डुबेर मृत्यु

सिरहा, ६ असोज — बाख्रा चराउन गएकी दुई बालिकाको आईतबार पोखरीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा गोलबजार नगरपालिका ९ गोविन्दपुरकी १० वर्षीया प्रतिक्षा थापा र १२ वर्षीया रानी खातुन रहेका छन् ।

साथीहरुसँगै जंगलमा बाख्रा चराउन गएकी उनीहरुको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको वडाअध्यक्ष रामपुकार कामतीले जानकारी दिए ।

पानीमा डुबेपनि बाहिर नदेखिएपछि प्रहरी र स्थानीयले खोजेर पानीभित्रबाटै दुवै बालिकालाई निकालेको थियो । दुवै बालिकाको शव पोष्टमार्टमको लागि लाहान अस्पताल राखीएको इलाका प्रहरी कार्यालय लाहानको इन्सपेक्टर बिजय यादवले जानकारी दिए।

स्थानीयबासी र प्रहरीले घटना भएलगत्तै उद्धारको प्रयास गरेपनि उनीहरुलाई बचाउन सफल नभएको बताए । थापाको बुबाको मृत्यु भइसकेको छ भने आमाले अर्कै विवाह गरिसकेकी छिन् । उनी हजुर आमासँग बस्थिन् । खातुनका बुबा बेपत्ता भएको वर्षौं भइसकेको छ भने आमाले अर्कैसँग विवाह गरेर गएकी छिन् । उनी मावलीमा बस्दै आएका थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार