सभामुख निवासको भोजबाटै महरा पक्राउ, महराको दसैं हिरासतमै

काठमाडौं, २० आश्विन – संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार जिल्ला अदालत काठमाडौंबाट महरालाई पक्रन पक्राउ पुर्जी लिएसँगै प्रहरीले महरालाई उनकै निवास बालुवाटारबाट पक्राउ गरेको हो।

उनलाई बा १८ च ४०० नम्बरको निजी रातो कारमा राखेर प्रहरीले लगेको छ। प्रहरी वृत्त बानेश्वरका डिएसपी दुर्गाराज रेग्मीसहितको टोलीले उनलाई पक्राउ गरेको हो। महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरको संयुक्त टोली महरालाई पक्राउ गर्न उनको निवास पुगेको थियो।

सभामुख निवास बालुवाटार प्रहरी पुग्दा महरा आफन्तहरूलाई दसैं भोज खुवाउँदै थिए। ‘उहाँले आज अष्टमीको दिन भएर खसी पनि काट्नुभएको रहेछ,’ अनुसन्धानमा खटिएका एक प्रहरीले अनलाइनसँग भने, ‘प्रहरीहरू सभामुख निवासभित्र पुगेर पनि उहाँलाई पक्राउ गर्न ढिलाइ हुनुको कारण त्यहाँ चलिरहेको भोज पनि हो।’

दुई जना प्रहरी पुगेको एक घन्टापछि प्रहरीको अर्को टोली त्यहाँ गएको थियो। निवासमा सुरक्षा व्यवस्था कडा पारिएको थियो। गाडी चढ्ने बेला महराले प्रहरी भ्यानमा निस्कन आनाकानी गरे। ‘म तपाईंहरूले ल्याएको गाडी चढदिनँ, आफ्नै गाडीमा प्रहरी कार्यालय जान्छु,’ पक्राउ बेला महराको भनाइ उद्धृत गर्दै एक प्रहरीले भने, ‘बरू मेरै गाडीमा प्रहरीलाई पनि राख्नुस्।’

गत शुक्रबार तिनै महिलाले महराले बलात्कार प्रयास गरेको भन्दै उजुरी दिएपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रधानमन्त्री र गृहमन्त्रीसँग छलफल गरेर महरालाई पक्राउ गर्न कानुनी प्रक्रिया अघि बढाएका थिए।

पक्राउ परेका महरालाई अब प्रहरीले आफ्नो हिरासतमा राखेर लागेका आरोपका सम्बन्धमा थप अनुसन्धान गर्नेछ। दसैं बिदा परेकोले हाल अदालत बन्द छ। जिल्ला अदालत भने कसैलाई अपरझट पक्राउ गर्न अनुमति दिनुपर्ने भएकोले खुला रहेको हो। अब उनको मुद्दाको सुनुवाइ भने  २८ गतेमात्र हुनेछ।

२८ गते अदालत खुलेपछि प्रहरीले महरालाई अदालतमा उपस्थित गराउनेछ। त्यसपश्चात प्रहरीले अनुसन्धान गर्नको लागि अदालतसँग म्याद थप्न अनुमति लिन्छ।

बलात्कारको प्रयास गरेको भन्दै रोशनी शाहीले शुक्रबार निवर्तमान सभामुख कृष्णबहादुर महराविरूद्ध प्रहरीमा उजुरी दर्ता गराएकी थिइन्। रोशनीले दर्ता गराएको सोही उजुरीका आधारमा महरालाई पक्राउ गर्ने अनुमति लिन प्रहरी अदालतमा गएको थियो।

उजुरीमा उनले आफूलाई महराले बलात्कार गर्न प्रयास गरेको र त्यसको प्रतिवाद गर्दा आफूमाथि हिंसा गरेको भन्दै उनले नयाँ बानेश्वर प्रहरी वृत्तमा दिएको उजुरीमा उल्लेख गरेकी थिइन्।

शाहीको उजुरी पछि प्रहरीले आइतबार अदालत खुलेपछि अदालतको आदेश लिएर महरालाई पक्रने तयारीमा रहेको बताएको थियो।

असोज १२ गते आइतबार महरा रक्सीको बोतल बोकेर शाहीको तीनकुनेस्थित डेरामा पुगेका थिए। त्यो रातको घटनाको भोलिपल्ट शाहीले मिडियालाई महराले आफूलाई बलात्कार र हातपात गरेको बताएकी थिइन्।

भोलिपल्ट उनको अनुहार र जिउमा चोटपटक देखिएको थियो। प्रहरी उच्च स्रोतका अनुसार सो घटना भएको राति प्रहरी उनको डेरामा पुगेपछि पनि उनले महराले आफूलाई बलात्कार गर्ने प्रयास गरेको र शारीरिक हिंसा गरेको बताएकी थिइन्।

शाहीको मध्य रातको त्यो बयान पनि प्रहरीले रेकर्ड गरेर राखेको थियो। घटना भएको पर्सी पल्ट असोज १४ गते प्रहरीले शाहीको डेरामा गएर महराले ल्याएका रक्सीको बोतल, घम्साघम्सीमा भाँचिएको महराको चस्माको खुट्टा र कोठाबाट हतारमा निस्किँदा छुटेको जुत्ताको तलुवालगायत सामान प्रहरीले बरामद गरेको थियो।

जाँचका लागि ती सामान प्रहरीको फरेन्सिक ल्याबमा पठाइसकेको छ। त्रिवि शिक्षण अस्पतालमा शुक्रबार नै रोशनीको स्वास्थ्य परीक्षण गरिसकिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार