तत्कालीन सभामुख महरा सांसद पदबाट पनि निलम्बित, सेवा–सुविधासमेत रोक्का

काठमाडौं, – संघीय संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा हिरासतमा रहेका तत्कालीन सभामुख कृष्णबहादुर महरा सांसद पदबाट निलम्बन भएका छन् । संघीय संसद सचिवालयले फौजदारी अभियोग लागेका महराको सांसद पद निलम्बनमा परेको जनाएको छ ।

संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले महरा निलम्बनमा परेको सूचना बिहीबार जारी गरेका छन् । प्रतिनिधिसभा नियमावलीमा फौजदारी अभियोग लागेका सांसदको पद निलम्बन हुने व्यवस्था छ ।

महरा पक्राउ परेपछि कार्यालय खुलेकै दिन सचिवालयले उनी सांसद पदबाट निलम्बनमा परेको सूचना जारी गरेको हो । निलम्बनसँगै महराको सांसदको हैसियतमा पाउने सेवा–सुविधासमेत रोक्का हुनेछ ।

निवर्तमान सभामुख कृष्ण बहादुर महरा स्वास प्रस्वासमा समस्या देखिए पछि अस्पताल भर्ना भएको अस्पताल श्रोतले जनाएको छ। उनलाई काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ।

उनी मुटुरोग विभागमा डा. जेपी जैसवालको सुपरिवेक्षणमा रहेको अस्पताल श्रोतले जनाएको छ। स्वासप्रस्वास सम्बन्धि समस्या भनिए पनि महरा मुटु रोगका डाक्टरको सुपरिवेक्षणमा रहेका छन्।

तत्कालीन सभामुख महराले सचिवालयकै कर्मचारी शाहीलाई तीनकुनेस्थित निवासमा गएर दुर्व्यवहार गरेका थिए । दुर्व्यवहारको घटना सार्वजनिक भएपछि उनले सभामुख पदबाट राजीनामा दिएका थिए ।

शाहीले आफूमाथि बलात्कार प्रयास गरेको किटानी जाहेरी दर्ता गरेपछि प्रहरीले जिल्ला अदालत काठमाडौंको अनुमतिमा महरालाई सभामुखकै सरकारी निवासबाट आइतबार पक्राउ गरी हिरासतमा राखेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार